आलिसान सरकारी भवनको आलोचना - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

आलिसान सरकारी भवनको आलोचना


काठमाडौं । ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास तयार भएको । ति आवासको हस्तान्तरण समेत गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भैंसेपाटीमा बनेको १४ वटा ब्लकको साँचो सम्बन्धित प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन् ।

करिब ८५ करोड रुपैयाँ लगानी सो आवास भवनक २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको शहरी विकास मन्त्रालयले बताएको छ। तर ति आवासका विषयलाई लिएर आलोचना भइरहेको छ । संघीयताको अभ्यास भइरहे पनि मुख्यमन्त्री र प्रदेश प्रमुखलाई उपत्यकामै आवास उपलब्ध गराएर ठिक उल्टो अभ्यास सरकारले गरेको भन्दै आलोचना भइरहेको हो ।

ति सरकारी सबै भवन तीन तलाका छन् । जहाँ स्वागत कक्ष, बैठक कक्ष, योग अभ्यास कक्षदेखि भान्सा कोठासम्मको व्यवस्था छ । हाल सरकारले धापाखेलको डाउनटाउन अपार्टमेन्टमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुका लागि मासिक ७ लाख रुपैयाँ भाडामा लिएर प्रयोग गर्न दिएको छ । अब उनीहरु भैंसेपाटी सर्नेछन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीको सरकारी आवासलाई आलिसान महल र दरबारको संज्ञा दिएका छन् । संसद् बैठकको विशेष समयमा बोल्दै उनले खेलाडीलाई सुत्ने र खानेको व्यवस्था नगरिएको मुलुकमा रातारात दरबार ठड्याइएको आरोप लगाएका छन् ।

ढकालले नेपाली क्रिकेट क्षेत्रको विकास लागि सरकारले खेलाडीलाई उचित सेवा सुविधा र आवश्यक संरचना निर्माण गर्न नसकेको सन्दर्भ जोड्दै उक्त आवासको आलोचना गरेका हुन् । खेलाडी र खेलकुद क्षेत्रका संरचनाको दयनीय अवस्था भएको अवस्थामा पनि सरकार नेताहरुको आवास निर्माणमा केन्द्रित भएको ढकालको भनाई छ ।

आवासको विरोध भइरहँदा स्थानीय भने खुशी भएका छन् । किनकी त्यहाँ आसपासको जग्गाको मूल्य आकाशिएको छ । मुख्य सडकमा आनाकै ६० देखि १ करोड रुपैयाँसम्म पर्न थालिसकेको छ । भित्री सडकमा भने आनाको ४० लाख रुपैयाँसम्म जग्गा पाइन्छ । १० वर्ष अगाडीको तुलनामा जग्गाको मुल्य झण्डै दोब्बरले बढेको छ ।

उक्त सरकारी आवास निर्माणको ठेक्का ०७६ असोज २७ मा भएको थियो । यसको ठेक्का केसी–समानान्तर जेभीले ७२ करोड ४७ लाखमा लिएको हो। आवाससँगै सुरक्षा भवन, इन्टेरियरलगायत सबैको काम सकिएर आवास हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ ।