चिनियाँ राजदूतको ‘गैरकूटनीतिक टिप्पणी’ - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

चिनियाँ राजदूतको ‘गैरकूटनीतिक टिप्पणी’


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङ यतिबेला विवादमा तानिएका छन । पटक पटक गैरकूटनीतिक टिप्पणी दिएको भनी नेताहरुले उनको आलोचना गरिरहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रममा उक्त विमानस्थल चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नै निर्माण गरिएको भनी झुटो वक्तव्य दिएको उनीमाथि आरोप छ ।

त्यो भन्दा पनि सोङले नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका कारण अझ बढी विवादमा तानिएका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कूटनीतिक मर्यादा विपरीत नेपाल–भारतबीचको सम्बन्ध र व्यापारमा खलल पुर्‍याउनेगरी टिप्पणी गरेका थिए ।

राजदूत सोङले नेपाल र भारतबीच भइरहेको विद्युत व्यापारका बारेमा गैरकूटनीतिक भाषामा टिप्पणी गरेका थिए । नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्नसक्ने उनको भनाइ थियो ।

ुनेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात गर्‍यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत आयात गर्‍यो। भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको छ। यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ ?’ चिनियाँ राजदूत सोङको प्रश्न थियो । केही नेपाली कूटनीतिज्ञहरूले नेपाल र भारतको सम्बन्धमाथि चिनियाँ राजदूतले गरेको टिप्पणी आपत्तिजनक भएको बताए। गत शनिबार राजधानीको एभरेष्ट होटलमा भएको कार्यक्रममा राजदूतले नेपाल–भारत मामिलामा गैरकूटनीतिक टिप्पणी गरेका थिए ।

‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै राजदूत छनले भारतसँगको विद्युत् व्यापारबाट नेपालले घाटा बेहोरिरहेको भन्दै यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ रु’ भनेरसमेत प्रश्न गरेका थिए । उनले नेपाल र भारतबीचको सम्बन्धलाई कमजोर बनाउने प्रयास गर्दै नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्न सक्ने दाबीसमेत गरे ।

सार्वजनिक कार्यक्रममा उनले नेपाल र भारतको आर्थिक, ऊर्जा र कृषि क्षेत्रबारे खुला टिप्पणी गरेर कूटनीतिक मर्यादाको उल्लंघन गरेका हुन् । भारतसँगको मित्रतालाई कमजोर पारेर उनले चीनको अर्थतन्त्र भने नेपालका लागि राम्रो हुने दाबीसमेत गर्न भ्याए ।

उनले सो क्रममा नेपाल जस्ता अतिकम विकसित मुलुकको अर्थतन्त्र उकास्न चीनले सहयोग गर्दै आएको दाबी गर्र्दै चिनियाँ अर्थतन्त्रको संरचनाबाट नेपालले केही सिक्नुपर्नेमा जोड दिए । उनले नेपाल र भारतको सम्बन्ध चिस्याउने भरपूर प्रयास गरे पनि नेपाल र चीनबीच व्यापार घाटा भएको भन्ने प्रसङ्गलाई हल्लामात्र भएको दाबी गरे । तर कतिपयले सोङको अभिव्यक्ति वास्तविकता भएको भनेर बचाउ पनि गरिरहेका छन् ।

सोङले गत वर्षको पुस १७ गते बीआरआई लागू भइसकेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यस अन्तर्गत बनाइएको बताएका थिए । उनको यो भनाइ विवादमा आएपछि उनलाई स्पष्टीकरण सोध्न परराष्ट्र मन्त्रालयलाई दबाबसमेत परेको थियो । तर यस विषयमा नेपाल सरकार मौन छ । सीमा नै नाघेर राजदूतले नेपाल र भारतबीचको मालिलामा गैरकूटनीतिक टिप्पणी गर्दासमेत सरकारले बेवास्ता गरेको बताइन्छ ।

राजदूतकै अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सोङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चिनियाँ राजदूत सोङमाथि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्ने बताए।

नेता यादवले चिनियाँ राजदूतको अभिव्यक्तिले नेपालीहरूको अपमान भएको बताए। ‘चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत छ। नेपाल सार्वभौमसत्ता मुलुक हो। हामी कोसँग दोस्ती गर्छौं, कोसँग व्यापार गर्छौं, नितान्त हाम्रो कुरा हो। हाम्रो अरु देशसँगको सम्बन्ध बिगार्ने अधिकार उहाँलाई छैन। यो हाम्रो सार्वभौकितामाथिको प्रहार हो। यो अभिव्यक्तिले नेपालीलाई अपमानित गरेको छ,’ उनले भने।

छिमेकी मुलुक भारत र नेपालका नागरिकहरूबीच राजदूत सोङले भ्रम सिर्जना गरेको उनको भनाइ छ। ‘चीनसँग हाम्रो मित्रवत व्यवहार छ। चिनियाँ राजदूत पनि यहाँ सम्बन्ध सुमुधर बनाउनु आउनुभएको हो,’ उनले थपे, ‘भारतसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ। खुला सीमाना छ। दुई देशबीचका नागरिकबीच सद्भाव छ। तर चिनियाँ राजदूतले भ्रम सिर्जना गर्ने काम गरेका छन्। परराष्ट्र मन्त्रालयले यो मामिलामा चिनियाँ राजदूतसँग स्पष्टीकरण लिनुपर्छ ।’

उनले भारतबाट आयात गरिएको बिजुली नै लोडसेडिङका बेला काम आएको बताए। ‘दस अर्बको बिजुली बेच्यौं, १७ अर्बको किन्यौं। यो आफ्नो ठाउँमा छ। तर लोडसेडिङका बेला यिनै छिमेकीले हामीलाई सहयोग गरेको हो नि,’उनले भने। उनले चिनियाँ राजदूत नेपालको हेडमास्टर नरहेको बताए। ुचिनियाँ राजदूत हेडमास्टर होइन। हामीलाई पढाउने, सिकाउने होइन। कोसँग के गर्ने हामीलाई थाहा छ। चिनियाँ राजदूतको हेडमास्टरी गर्ने काम नहोस्, उनले भने

कांग्रेस नेता यादवले चीनले केरुङ–काठमाडौं रेल अल्झाएर राखेको बताए। ‘हामीले केरुङ–काठमाडौं रेल बनाइदेऊ भनेकै छौं। खै बनाइदिएको ? पोखरा विमानस्थलमा दुई गुणा बढी ऋणमा बनाइदिएका छन्। खै त त्यहाँ विजनेश ? नेपालले कसरी तिर्छ तेत्रो ऋण ?’ उनले प्रश्न गरे। उनले चीनले हालै जारी गरेको नक्साप्रति पनि आपत्ति जनाए। नेपालको चुच्चे नक्सा नसमेटिएको भन्दै उनले तत्काल नक्सा सच्याउन माग गरे।’ संसदबाट पारित भएको नेपालको चुच्चेसहितको नक्सा चीनले किन राखेन ? अविलम्ब यो सच्याइयोस्,’ उनले भने।

यता, एभरेष्ट होटलमा भएको कार्यक्रममा सभामुख देवराज घिमिरे उपस्थित थिए । पूर्वपर्यटनमन्त्री तथा एमाले नेता आनन्दराज पोखरेल नेतृत्वको टोलीले उक्त कार्यक्रम आयोजना गरेको थियो । यो कार्यक्रममा सभामुखमात्र होइन पूर्व परराष्ट्र मन्त्रीद्धय महेन्द्रबहादुर पाण्डे र बिमला राई पौड्याल पनि साक्षी रहेका थिए । तर पनि उनीहरुको कुनै टिप्पणी आएन । सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । राजदूत सोङ विवादमा तानिएका छन् र उनको चर्को आलोचना भइरहेको छ ।