देश दौडाहामा जाने डा.शेखरको नयाँ योजना - रुपान्तरण
 २०८३ भाद्र ९, मंगलबार    

देश दौडाहामा जाने डा.शेखरको नयाँ योजना


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरको डा.शेखर कोइराला समूह सुशासनको मुद्दा लिएर देश दौडाहामा जाने भएको छ । देशभर सुशासन खड्किएको अवस्थामा डा.शेखर कोइरालाले कांग्रेस सुशासनको मुद्दा लिएर देशभर जाने बताएका हुन् ।

राजधानीमा केही संचारकर्मीहरुसँगको कुराकानीमा उनले आफ्नो पक्षको अबको योजना सार्वजनिक गरेका हुन् । कांग्रेसभित्रै सुशासन खड्किएको आवाज आइरहँदा डा.कोइरालाले सही लय समातेर देश दौडाहामा लाग्ने संकल्प गरेका हुन् ।

डा.कोइरालाले देशमा विदेशीको चलखेल बढी भएको भन्दै देश अप्ठेरो अवस्थामा रहेकोप्रति सजग हुन सबैलाई आह्वानसमेत गरेका छन् । डा.कोइरालाले आफू संघीयताको पक्षमा रहेको भन्दै कोही प्रधानमन्त्री पनि संविधानले तोकेको संघीयताको अधिकार दिन इच्छुक नरहेको बताए । गगन थापा र आफूबीचको सम्बन्ध सुमधुर नै रहेको भन्दै उनले मुख्य मुद्दाहरुमा आफूहरु एकैठाउँमा रहेको बताए ।

शेखर–गगन समूहमा महामन्त्री गगनकुमार थापा पहिलेदेखि नै आक्रामक भएर देश दौडाहामा रहेका बेलामा अब शेखर पनि मध्यमार्गी योजना लिएर देश दौडाहामा जाने बताएका हुन् । उनले आफू कांग्रेसलाई एक ढिक्का बनाउने योजनाका साथ देश दौडाहामा लाग्नेसमेत बताएका हुन् ।

बिहीबार मात्रै डा.शशांक कोइरालाले आफू पार्टीको आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवाका तर्फबाट सभापतिको उम्मेदवार बन्ने दाबी गरिरहँदा शुक्रबार नेता शेखर कोइरालाले आफू कांग्रेसलाई एक ढिक्का बनाउने अभियानमा देश दौडाहामा लाग्ने निर्णय गर्नुले पार्टीको १५ औँ महाधिवेशनको अभ्यास शुरु भइसकेको आँकलन गर्न सकिन्छ ।

२०८२ सालभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्नका लागि आफूहरु जसरी पनि लाग्ने उनले बताएका छन् । सोही अनुसारको तयारी अहिलेदेखि नै भइरहेको संकेतसमेत डा। शेखर कोइरालाले दिएका छन् ।

"