प्रधानमन्त्री बन्न लालायित छैन, तर कांग्रेस पछि हट्दैन् - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

प्रधानमन्त्री बन्न लालायित छैन, तर कांग्रेस पछि हट्दैन्


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नका लागि आफू लालायित नभएको बताएका छन् । आइतबार बुढानिलकण्ठस्थित निवासमा श्रीराम श्रेष्ठद्धारा लिखित पुस्तक ‘नेपाली जन जातीय संस्कार र संस्कृति’ को विमोचन गर्दै देउवाले प्रधानमन्त्री बन्नका लागि आफू लालायित नभएको बताएका हुन् ।

तर, कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बन्यो भने आफू फेरी पछि नहट्ने देउवाले भनेका छन् । ‘प्रधानमन्त्रीका लागि म लालायित छैन, तर कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने अनुकुल परिस्थिति बन्यो भने फेरी पछि हट्दिन,’देउवाले सम्बोधनका क्रममा भने ।

देउवाले माओवादी केन्द्रबाट सरकारलाई दिएको समर्थन जारी रहेकाले समेत सरकारको विकल्प खोज्न नसकिएको भनेका छन् । उनले अहिले पनि सरकार बहुमतकै अवस्थामा रहेको र अल्पमतमा नपरिसकेकाले विकल्प खोज्न सहज नभएको बताए ।

देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको पनि बताए । उनले अहिलेको राजनीति एकदमै तरल अवस्थामा रहेकाले भोलि जे पनि हुनसक्ने समेत बताए ।

देउवाले कार्यक्रममा पुस्तक लेखक श्रेष्ठलाई बधाई दिँदै संस्कृति सम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्वपूर्ण, पठनीय र संग्रहणीय भएको बताए । उनले नेपाल विभिन्न जातजातीको फूलबारीको रुपमा रहेको र साँस्कृतिक मिलापले एकतावद्ध रहेको र एक जातिले अर्को जाति र धर्मको सहअस्तित्वलाई स्वीकारेको बताए ।

२० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक उक्त ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसावले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको साँस्कृतिक पक्षको खोज÷अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिए ।

महतले भने, ‘यस किसिमका अनुसन्धानले नेपालको साँस्कृतिक समृद्धिमा जोड पुग्नेछ । यस्ता खोज अनुसन्धानहरुलाई नेपाली काँग्रेसले पनि उच्च प्राथमिकतामा राखेको छ , यसकिसिमका खोज÷अनुसन्धान गर्नेलाई उचित मूल्यांकन समेत पार्टीले गर्नेमा विश्वस्त छु ।’

प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकै ठाउँमा उतार्नु भनेको चानचुने कुरा नभएको बताउँदै भने, ‘यस्तो महत्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको कोर्समै स्थान दिनुपर्छ त्यसको लागि सबै तर्फबाट पहलकदमी आवश्यक छ ।’

पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ्ग, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुषन्धान मुलक लेखहरू रहेका छन् । ५१२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।