शेखर–गगन पक्षको निष्कर्ष: सरकार कमजोर र संस्थापनको एकलौटी - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

शेखर–गगन पक्षको निष्कर्ष: सरकार कमजोर र संस्थापनको एकलौटी


काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर शेखर–गगन पक्षको बैठक बसेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै गर्दा शेखर–गगन पक्षले १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट चुनाव लडेका सबैलाई कोइरालाको कार्यालय विशालनगरमा छलफलमा डाकेको हो ।

बैठकमा उपसभापति एवं कानून मन्त्री धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित नेताहरु शेखर कोइराला, चन्द्रकान्त भण्डारी, डा.मिनेन्द्र रिजाल लगायत रहेका छन् ।

बैठकमा भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष निकालेको छ । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार बसेको बैठकले आफ्नै दलका नेताहरू समातिने डरको मनोविज्ञानका कारण भ्रष्टाचारविरुद्धको अभियान रोकिएको निष्कर्ष निकालेको हो । बैठकले सरकारले जनतामा आशा जगाउन नसकेको निष्कर्ष पनि निकालेको छ ।

बैठकले विशेष गरी अब कसरी अगाडि बढ्ने भन्ने बारेमा रणनीति बनाएको छ । बैठकले वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकालेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा पेश गरेको वार्षिक कार्यतालिकालाई १० साउनमा पार्टीले पारित गरेको थियो ।

एक वर्षको अन्तरालपछि गत साउन २ गते बसेको बैठकले विधानअनुसार हरेक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएबमोजिम बिहीबार असोज ४ गतेका लागि डाकेको हो ।

साउनमा बसेको बैठकमा एकलौटी ढंगले संस्थापन इतर पक्षलाई आरोप प्रत्यारोप गर्नमा संस्थापनका नेताहरुले समय खर्चिएपछि यसपालि भने संस्थापन इतर पनि आक्रामक भएर पेश हुने रणनीति बनिरहेको बुझिन्छ । साउनमा भएको बैठक कांग्रेसले पहिलो पटक प्रत्यक्ष प्रसारण गरेको थियो ।

यसपालिको बैठकमा इतर पक्षले सत्तामा रहे पनि जनताले कांग्रेस पनि सरकारमा छ भन्ने अनुभूति गर्न नपाएको प्रसङ्गलाई जोडतोडले उठाउने बुझिएको छ । संस्थापनले सरसल्लाह बिना नै आफ्ना गतिविधि गरिरहेकोप्रति शेखर–गगन पक्ष रुष्ट छ ।

भ्रातृ संस्थाहरुको चुनावको प्रसङ्गलाई ओझेलमा पारेर हचुवाका भरमा केन्द्रीय सदस्यहरु मनोनित गरेकोप्रति संस्थापन इतर समूह रुष्ट छ । भ्रातृ संस्थाहरुलाई चलायमान बनाउनुको सट्टा उल्टै आपसमा फुटाउने शैली संस्थापनले लिएको भन्दै प्रतिवाद गर्ने योजनासमेत बनेको पाइएको छ ।

महिला संघमा त शेखर–गगन पक्षले केही जिल्लामा समानान्तर समूह गठनसमेत गरेको छ । २०७८ सालको मंसिर अन्तिममा कांग्रेसको १४ औँ महाधिवेशन भएको भए पनि अहिलेसम्म केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छैन ।