सुवासचन्द्रको क्षेत्रमा छोरा सुहाङको इच्छा ! - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

सुवासचन्द्रको क्षेत्रमा छोरा सुहाङको इच्छा !


इलाम । नेकपा (एमाले)का उपाध्यक्ष एवम संविधानसभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङले राजनीतिमा आउने संकेत गरेका छन् । उनले बुबाको सपना पूरा गर्ने बताए । कानुन व्यवसायीसमेत रहेका उनले यसका लागि आफू सबैसँग हातेमालो गर्न तयार रहेको पनि बताए।

नेम्बाङको स्मृतिमा गृह जिल्ला इलाममा आयोजित श्रद्धाञ्जली सभामा सुहाङले समृद्ध नेपाल निर्माण नै बुबा सुवासको सपना भएको बताए। तर उनले राजनीतिमै सक्रिय हुनेबारे प्रष्ट पारेनन् । सुहाङले राजनीतिक परिवारमा हुर्किँदैमा आफूले अवसर पाउनुपर्छ भन्ने नठानेको स्पष्ट पारे । श्रद्धाञ्जली कार्यक्रममा उनले बुबाले अधुरो छाडेको काम आफूले सामाजिक र कानुनको क्षेत्रबाट पूरा गर्न पहल गर्ने बताए ।

सुहाङले आफू राजनीतिमा सक्रिय नभएको र अवसर पनि राजनीतिक परिवारमा जन्मेको मान्छेलाई नै दिनुपर्छ भन्नेमा आफू नरहेको प्रष्ट पारे । ‘म राजनीतिमा सक्रिय छैन। तर, म बुबासँग हुर्किएको हो। राजनीतिक परिवारमा हुर्केको हो। राजनीतिक परिवारमा जन्मियो भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिनँ,’ सुहाङले भने, ‘तर, राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि बुबाको सपना, बुबाले छाड्नुभएका अधुरा काम पूरा गर्नुपर्ने कार्यमा म सामाजिक र कानुनी हिसाबले अघि बढ्छु, त्यसका लागि हजुरहरूसँग हातेमालो गरेर अघि बढौँ भन्न चाहन्छु।’

सुवास नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य थिए। उनको निधनले यो क्षेत्र जनप्रतिनिधिविहीन भएको छ। संवैधानिक व्यवस्थाअनुसार यो क्षेत्रमा उपनिर्वाचन हुनेछ। उक्त क्षेत्रमा नेम्वाङको राजनीतिक उत्तराधिकारीको बारेमा बहस शुरु भएको छ । सभामुख देवराज घिमिरेले २९ भदौको प्रतिनिधिसभा बैठकमा इलाम २ निर्वाचन क्षेत्र रिक्त भएको घोषणा गरेसँगै दिवंगत नेता नेम्वाङको राजनीतिक उत्तराधिकारीको खोजी सुरु भएको हो । धेरैको नजर नेम्वाङका कान्छा छोरा सुहाङमा परेको छ ।

नेम्वाङ २०५६, २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा इलाम २ बाट निर्वाचित भएका थिए । एमालेका लागि प्रतिकूल ठानिएको २०६४ को संविधानसभा र २०७९ को आम निर्वाचनमा पनि विजयी भएर नेम्वाङले इलाममा आफ्नो पकड पुष्टि गरेका थिए । २०७९ को निर्वाचनमा भने उनलाई अघिल्ला चुनावजस्तो सहज भएन । कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेदवार कांग्रेसका डम्बर बहादुर खड्कालाई ११४ मतको झिनो मतले पराजित गरेका थिए ।