कर्णालीबाट शुरु भएको ओलीको हार अब केन्द्रमा - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

कर्णालीबाट शुरु भएको ओलीको हार अब केन्द्रमा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिएका छन् ।चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै दाहालले कर्णालीबाट शुरु भएको ओलीको हार अब केन्द्रमा पनि आइपुग्ने दावी गरेका हुन् ।

कर्णाली प्रदेश सरकार गिराउने ओलीको प्रयास निरस्त्र पारिएको भन्दै दाहालले भने, ‘अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि हार व्योहोर्दै छन् । ती प्रदेशमा भन्दा पहिले संघमा हार्न पनि सक्छन् । प्रतिगमन धेरै दिन टिक्दैन ।’ ओलीलाई प्रधानमन्त्री आफैले बनाएको जिकीर गर्दै दाहालले धोका दिने ओली नेतृत्वको सरकार अब धेरै नटिक्ने दाबी गरे ।

चितवनको माडीस्थित अयोध्यापुरीमा प्रधानमन्त्री ओलीले बनाउन लगाएको राम–सीता मन्दिरको अवलोकन गर्दै पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्टले धर्म मान्दैनन् भन्ने प्रचार गलत भएको टिप्पणी गरे ।

माडीमा राम जन्मभूमिलाई आधिकारिकरुपमा ल्याउन सक्दा सबैभन्दा बढी खुशी आफू हुने भन्दै उनले अयोध्याधामको विषय गम्भीर भएकाले संवेदनशील कुरामा सस्तो लोकप्रियतामा नलाग्न प्रधानमन्त्री ओलीलाई सचेत पनि गराए ।