चीन सरकारको प्राथमिकतामा प्रचण्डको भ्रमण - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

चीन सरकारको प्राथमिकतामा प्रचण्डको भ्रमण


काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री दाहालले असोज ६ गते शनिबारदेखि चीनको भ्रमण गर्ने कार्यक्रम तालिका सार्वजनिक भएको गरेको हो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री दाहाल उतैबाट चीन भ्रमणमा जान लागेका हुन । प्रधानमन्त्री दाहालले २३ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म चीनको भ्रमण गर्नेछन् ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङझाओमा भेट्नेछन् । मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहाल सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुनेछन् । दाहालले चीनको बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नेछन् । उनले चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद् (सीसीपीआईटी), नेपालको उद्योग वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गर्ने ’चीन–नेपाल लगानी सम्मेलन’लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी)साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहनेछन् । त्यसैगरी राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, लगायत रहनेछन् ।

प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल यही ३० सेप्टेम्बरमा स्वदेश फर्कनेछन् । यस पटक दाहालको भ्रमणलाई चीन सरकारले विशेष महत्व दिने बुझिएको छ । तर चीनले किन महत्त्व दिँदै छ भन्नेबारेमा कसैले केही खुलाएको छैन । यस पटक प्रधानमन्त्रीलाई चीन सरकारले दुई ठाउँमा विशेष सलामी दिएर सम्मान गर्न लागेको हो।

प्रधानमन्त्री प्रचण्डलाई २३ सेप्टेम्बर बिहान १० बजे हाङचौमा विदेश मन्त्रीले विमानस्थलमा स्वागत गर्नेछन्। साढे १२ बजे उनले चिनियाँ राष्ट्रपति सि चिनपिङलाई भेट्ने र रिसोर्टमा सँगै खाना खाने कार्यक्रम तय भएको छ। त्यसपछि उनी आफू बसेको होटेल जानु हुने र सोही दिन अपराह्न ४ बजे राष्ट्रपति सिसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ।

सोही दिन राति ८ बजे प्रधानमन्त्री प्रचण्ड एसियन गेम उद्घाटन समारोहमा सहभागी हुनेछन्। भोलिपल्ट मध्याह्न १२ बजे प्रधानमन्त्री बेइजिङ पुग्न र त्यहाँ चिनियाँ मन्त्रीले विमानस्थलमा स्वागत गर्नेछन्। २५ सेप्टेम्बर बिहान १० बजे तिआनमन स्क्वायरस्थित ग्रेट हल अफ दि पिपुलमा प्रधानमन्त्रीको भव्य स्वागत समारोह हुनेछ। चिनियाँ जनमुक्ति सेनाले हाउचौमा झैँ यहाँ पनि उनलाई गार्ड अफ अनरले सम्मान गर्नेछ। साढे १० बजे प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी लि छ्याङ्गबीच औपचारिक भेटवार्ता हुनेछ। भेटका लागि झन्डै २ घण्टाको समय निर्धारण गरिएको छ। सो भेटमा विभिन्न सहमति पत्रमा हस्ताक्षरसमेत हुनेछ।

चीनले प्रधानमन्त्रीको भ्रमणलाई मात्र होइन एमाले महासचिव शङ्कर पोखरेलको सहितको भ्रमणलाई पनि यस कट उच्च महत्त्व दिएको थियो। बेइजिङका मुख्य सडक र उनी गएका स्थानमा सडक खाली गराएको थियो। ३० देशका प्रतिनिधिहरू सहभागी कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओ लगायतका नेताहरू उपस्थित भएको छोङछिङमा आयोजित स्मार्ट चाइना एक्स्पो–२०२३ मा मुख्य अतिथि बनाएको थियो।

त्यति बेला हरेक नयाँ प्रान्त, सहर र जिल्लामा गएको बेला त्यहाँ स्थित चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरू विमानस्थलको स्वागत र बिदाइमा सहभागी भएका थिए। सबै विमानस्थलको विशिष्ट कक्षको प्रयोग गरिएको थियो।

एमाले महासचिव फर्केपछि चीन जान लागेका प्रधानमन्त्रीलाई पनि उत्तिकै महत्त्व दिँदै सम्मान र सलामी दिन लागेको हो। एमाले महासचिव पोखरेलको भ्रमणमा संलग्न भएका एमाले केन्द्रीय सदस्य मानवीर राईका अनुसार चीनले नेपालमा वामपन्थीहरूको सरकार बनाउन स्पष्ट सन्देश दिएको थियो। अहिले प्रचण्डको भ्रमणमा पनि यही सन्देश प्रवाह गर्न चाहिरहेको छ।