‘एनआरएन द सिंगर’ मंगलबारदेखि प्रसारण हुने, यस्तो छ छनोट विधि - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

‘एनआरएन द सिंगर’ मंगलबारदेखि प्रसारण हुने, यस्तो छ छनोट विधि


काठमाडौं । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ ‘एनआरएन द सिङगर’ मंगलबारदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रम मंगलबार राति १० बजेदेखि ‘स्पेस फोर के टेलिभिजन’ मा प्रसारण हुने छ ।

पहिलोपटक आयोजना हुन लागेको रियालिटि शो ‘एनआरएन द सिङगर’ का लागि सेप्टेम्बर ९ देखि २२ सम्म अडिसन गरिएको थियो । एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक)को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट रहेका छन् भने युकेबाट शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदा अस्ट्रियाबाट जोडिएर कार्यक्रममा सहभागी भएका छन् ।

अडिसनमार्फत उनीहरुलाई आयोजकले सुरुमा छानेपछि उत्कृष्ट ४० जनालाई छनोट गरेका थिए । उत्कृष्ट ४० जनाबाट उत्कृष्ट २०, १५, १२, १० र ५ गरी ग्रान्ड फिनाले आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी)का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष गोविन्द प्रसाद गौतमले जानकारी दिए ।

कसरी हुन्छ उत्कृष्ट प्रतिभाको छनोट ?

एनआरएन द सिंगरको सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो । त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो । त्यसमध्ये आयोजक र जज मिलेर उत्कृष्ट ४० जनाको छनोट गरिएको छ । ४० जनाको नाम क्रमशः टेलिभिजनबाट प्रसारण हुँदा सार्वजनिक गरिने छ । उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायक शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदाले उत्कृष्ट २० जनालाई अर्को चरणमा प्रवेश गराउने छन् ।

२० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिए पछि उत्कृष्ट १५ मा पुग्ने छन् । उत्कृष्ट १५ बाट अघि बढनेका लागि भने अनलाइन भोटको पनि आवश्यकता पर्नेछ । १५ बाट उत्कृष्ट १२ मा पुग्दा २५ प्रतिशत भोटिङको नम्बर जोडिने छ भने ७५ प्रतिशत निर्णायकको नम्बर हुने छ ।


उत्कृष्ट १२ बाट १० मा जाँदा भोट र निर्णायकको बराबर ५० प्रतिशत हुने छ भने उत्कृष्ट १० बाट ग्रान्ड फिनाले ९फाइनल० मा पुग्ने छ। ५ जनाको छनोट गर्दा भने ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ । तर, ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ उपाधि जित्न सफल हुनेछन् । उपाधि जित्नले नगदरु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु ३ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने उप संयोजक प्रवीण गुरुङले जानकारी दिए ।

कसरी हुन्छ प्रसारण ?

एनआरएन द सिंगरको ७ एपिसोडमा फाइनल गर्ने लक्ष्य लिइएको छ । ६ वटा एपिसोड अनलाइनमार्फत रेकर्ड गरेर टेलिभिजनमा प्रसारण हुने छ भने फाइनल काठमाडौंमा लाइभ गर्ने योजना बनाइएको छ । त्यसका लागि सम्बन्धित एनसीसीहरुले फाइनलमा पुगेका ५ जनालाई नेपाल ल्याउनका लाग सहयोग गर्ने वचन दिएका छन् । मंगलबार (२६ सेप्टेम्बरमा)राति १० बजे प्रसारण हुने कार्यक्रममा उत्कृष्ट ४० जनाको प्रस्तुति रहने छ ।

एकै दिन सबै नसकिने भएकाले २७ तारिखमा उत्कृष्ट ४० कै बाँकी प्रतिभाहरुको प्रस्तुति प्रसारण हुने छ । यसैगरी २८ सेप्टेम्बरमा उत्कृष्ट २० छनोट गरेर अक्टोबर १ मा उत्कृष्ट १५को प्रस्तुति प्रसारण हुने छ । अक्टोबर ५ मा उत्कृष्ट १२ को प्रस्तुति प्रसारण पछि अक्टोबर ९ मा सेमिफाइनल (उत्कृष्ट १०) को प्रस्तुति प्रसारण गरेर फिनालेका लागि उत्कृष्ट ५ जनाको छनोट गरिने छ । फिनाले अक्टोबर १५ मा काठमाडौंमा हुने ‘एनआरएन द सिंगर’का मुख्य संयोजक समेत रहेका गौतमले बताए ।