राहत शिक्षकहरुको पक्षमा उभियो कांग्रेस, विधेयक परिमार्जन गर्ने - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

राहत शिक्षकहरुको पक्षमा उभियो कांग्रेस, विधेयक परिमार्जन गर्ने


काठमाडौं । आन्दोलनरत नेपाल राहत शिक्षकहरुले माइतीघर–बानेश्वर सडक खण्डमा सिट्ठी बजाएर प्रदर्शन गरेका छन् । राहत शिक्षकको आन्दोलनको क्रममा मंगलबार राहत शिक्षकद्वारा माइतीघर देखि बानेश्वर सडक खण्डमा सिट्ठी बजाएर आफ्नो मागहरूको नारा लगाउदै प्रदर्शन गरे ।

आन्दोलनरत शिक्षकहरुमा पक्षमा नेपाली कांग्रेसले समर्थन जनाएको छ । कांग्रेसले संसद्मा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिबद्धता पनि जनाएको छ । मंगलवर पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरूले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरूको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको हो ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा सङ्घ, संस्थाहरूले आफूहरूको माग सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए । सरोकारवाला निकायका मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न प्रतिबद्धता पार्टीको तर्फबाट प्रतिबद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् । सभापति देउवाले भने, “सधैँभरि समस्या बल्झाएर राखेर हुन्न । विधेयकमा सम्बोधन गर्न सकिने विषय मिलाएर समेट्नुपर्छ । अहिले पनि यति धेरै कुरा आएका छन् । यसलाई सम्बोधन गराउन हामी पहल गर्नेछौँ ।”

विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो । तर राहत शिक्षकहरुले असहमति जनाएका थिए ।