‘ओली हिटलर जस्तै पतन भएर जान्छन्’ - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

‘ओली हिटलर जस्तै पतन भएर जान्छन्’


काठमाडौं । एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको बताएका हुन् ।

यस्तै प्रधानमन्त्री बनाउन जसले भर्‍याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्‍याइदिएको पनि टिप्पणी गरे । प्रधानमन्त्री ओलीले केही खास मान्छेहरूलाई किनेर भजनमण्डली बनाएको पनि उनको आरोप छ ।

आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताए । नेता नेपालले संसद्ले राम्रो भूमिका निर्वाह गर्दैगर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसद्लाई नै घाँडो ठानेको पनि बताए। आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने कोसिस गरेको उनको आरोप छ ।