कोशीमा केदार कार्कीलाई विश्वासको मत - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

कोशीमा केदार कार्कीलाई विश्वासको मत


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनासम्ममा विश्वासको मत लिनुपर्ने भए पनि उनले तीन दिनपछि नै विश्वासको मत लिएका हुन् । उनी गत शनिबारमात्र मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनले प्रदेश सभाको इतिहासमै सबैभन्दा बढी मतसहित विश्वासको मत हासिल गरेका छन् । उनलाई एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाले मत दिएका छन् । उनलाई ८६ जनाले मत दिएका छन् भने राप्रपाका ५ सांसदले विपक्षमा मत दिए । राप्रपाका एक सांसद भने बिमार भएकाले अनुपस्थित रहे ।

कोशी प्रदेश सभा ९३ सदस्यीय रहेका छन् । कोशीमा सभामुख नभएकाले उपसभामुख सिर्जना दनुवारले नै अध्यक्षता ग्रहण गर्दै आएकी छिन् । यसअघि प्रदेश सभा बैठकसमक्ष उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव गरेका थिए । उनले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफूलाई विश्वासको मत दिन माग गरेका थिए ।

एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले आफूले धेरै पहल गरेको भए पनि केन्द्रबाट कुनै पनि पहल नभएपछि पछि हटेको बताए । उनले मध्यावधि हुनबाट रोक्न ठूलो त्याग गरेको पनि उल्लेख गरे ।

त्यस्तै कांग्रेसका सांसद एवं पूर्व मुख्यमन्त्री उद्धव थापाले विद्रोह गरेर मुख्यमन्त्री भएका कांग्रेसका कार्काीलाई विश्वासको मत दिने बताउँदै आठ सिटे विद्रोहीसँग गाला टाँसेको पनि बताए ।