नेपाल टी–२० त्रिकोणात्मक क्रिकेटको फाइनलमा - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

नेपाल टी–२० त्रिकोणात्मक क्रिकेटको फाइनलमा


काठमाडौँ । नेपाल टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलामा अपराजित रहँदै फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा यूएईलाई ५ विकेटले हराउँदै नेपाल शतप्रतिशत नतिजासहित फाइनलमा पुगेको हो ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि १६५ रनको चुनौती नेपालले १९।२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । नेपाललाई जिताउन आसिफ शेखले ५० बलमा ६२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ४२ बलमा ४७ तथा दिपेन्द्र सिंह ऐरीले १५ बलमा अविजित रहँदै ४० रन बनाए ।

यसअघि टस जितेर नेपालले पहिले बलिङ गरेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । बसिल हमिद र वृत्तिय अरविन्दले समान ४५ रन बनाए । अमिदले मात्र १९ बलमा ५ छक्का र २ चौकाको मद्धतले ४५ रन बनाएका थिए ।

नेपालका लागि सोमपाल कामी र अबिनाश बोहराले २–२ विकेट लिए । त्यस्तै गुलसन झा र करण केसीले १–१ विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । त्यस्तै हङकङमाथि ७९ रन र ६ विकेटको जित हासिल गरेको थियो ।

यूएईले एक खेलमा हङकङलाई हराएको छ । बुधबार लिगको अन्तिम खेलमा यूएई र हङकङ खेल्दैछन् । यो खेल जित्दा यूएई फाइनलमा पुग्नेछ । हङकङ विजयी भएमा रनरेटका आधारमा माथि रहने टिम फाइनलमा पुग्नेछ ।

लिगको शीर्ष स्थानमा रहने दुई टिमले आगामी शुक्रबार उपाधिका लागि फाइनल खेल्नेछन् । नेपालको भिडन्त यूएई र हङकङमध्ये दोस्रो स्थानमा रहने टिमसँग हुनेछ । टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो ।