एन्टोनियो गुटेरेसको स्वागतको तयारीमा नेपाल - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

एन्टोनियो गुटेरेसको स्वागतको तयारीमा नेपाल


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा आउँदैछन् । उनको सुरक्षाको जिम्मा नेपाली सेनाले लिने भएको छ । महासचिव गुटरेस यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा नेपाल आउन लाग्नु भएका गुटेरेसको भ्रमण राजकीय बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गर्न लागिएको जिल्ला सुरक्षा परिषद् काठमाडौंले जनाएको छ ।

गुटेरेसलाई सुरक्षा दिन जिल्ला सुरक्षा परिषद् काठमाडौं र ललितपुरको बैठकले सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको हो । बैठकले पहिलो तथा भित्री घेरामा सेना बीचमा नेपाल प्रहरी र बाहिरी सुरक्षामा सशस्त्र प्रहरी रहने निर्णय गरेको छ ।

गुटेरेसले कात्तिक १४ गते संघीय संसदको संयुक्त बैठकलाई अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । भ्रमणका क्रममा गुटेरेसले राष्ट्रपति, प्रधानमन्त्री लगाएत देशका उच्च पदस्थ अधिकारीहरुसँग भेट गर्ने कार्यतालिका छ । भ्रमणकै क्रममा उनलाई अन्नपूर्ण र खुम्बु क्षेत्रको हिमाली दृश्यावलोकन गराउने कार्यक्रम समेत तय गरिएको छ ।

गुटेरेसले कार्तिक १४ गते सङ्घीय संसद्लाई सम्बोधन गरे लगत्तै १६ गते चालु अधिवेशन अन्त्य गर्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ। सङ्घीय संसद् सचिवालयले दशैं अगाडि नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरे पनि महासचिव गुटेरेसको भ्रमणका कारण अन्त्य नगरिएको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जानकारी दिए।

महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने सभामुख घिमिरेले जानकारी दिए। गुटेरेसले संसद्मा जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दालाई समेत सम्बोधन गर्ने अनुमान घिमिरेले सुनाए।

यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसले नेपाल भ्रमण गरेका थिए। महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहेका गुटेरेस अहिले दोस्रो कार्यकालका लागि कार्यरत छन्।

सन १९७० र ८० को दशकमा तत्कालीन महासचिवले नेपालको भ्रमण गरेको र पछिल्लो पटक सन् २००८ मा महासचिव वान की मुनपछि गुटेरेसको भ्रमण हुन लागेको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ।

सन् १९४५ मा पोर्चुगलको लिस्वनमा जन्मिएका गुटेरेस भौतिक शास्त्र तथा इलेकट्रिकल इन्जिनियर विषय अध्ययन गरी केही वर्ष प्राध्यापन पेसामा संलग्न थिए। सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ७४ वर्षीय महासचिव गुटेरेस एक अनुभवी राजनीतिज्ञ र कूटनीतिज्ञका रूपमा परिचित छन्।

 

"