शान्ति प्रक्रिया र जलवायु असरबारे गुटरेसको चासो - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

शान्ति प्रक्रिया र जलवायु असरबारे गुटरेसको चासो


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । गएराति एक बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गरे ।
उनले आइतबारदेखि शिष्टाचार भेटघाट गरिरहेका छन् । गुटेरेसले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन तीन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि गरिएको पत्रकार सम्मेलनमा तीन उपायबाट मात्रै टीआरसी समाधान गर्न सकिने बताएका हुन् ।

उनले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरेरमात्रै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन् । गुटेरेसले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्र संघ सहयोग गर्न तयार रहेकोसमेत बताए ।

उनले शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेको भन्दै नेपाल आगामी केही वर्षमै अल्पविकसित देशबाट माथि उठ्न तयार भइरहेको भन्दै प्रशंसा गरे ।

उनले नेपालले विगत तीस वर्षमा एक तिहाइ हिँउ गुमाएको बताउँदै यहाँका हिमनदीहरू उच्चदरमा पग्लिरहेको प्रति चिन्तासमेत व्यक्त गरे । उनले नेपाल र संयुक्त राष्ट्र संघ बीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू नेपाल आएको पनि बताए ।

प्रधानमन्त्रीमाथि ओलीको आरोप

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको बताए । ओलीले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम असहज बन्न गएको बताएका हुन् । माओवादी युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुटेरेससँग राख्नुभएको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

जलवायु असरबारे चासो

राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ताका क्रममा गुटरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरे । पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भीर भइदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।

उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरुलाई दायित्व पूरा गर्न राष्ट्रसंघलाई पहलकदमी लिन पनि आग्रह गरेका छन् । नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति पौडेलसँग आइतबार शीतल निवासमा गरेको शिष्टाचार भेटमा उनले सो आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

‘जलवायु परिवर्तनको कारण हामी होइनौ, अरुले अधिक कार्वन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौँ, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण विगार्नेहरुलाई दायित्व पूरा गर्न झकझक्याउनुपर्दछ’, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै पोखरेलले भने, “हामीले त व्यहोर्यौ व्यहोरयौ अब सारा विश्व र मानजजातिले नै व्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले संयुक्त प्रयास गरांै । त्यसमा नेतृत्व राष्ट्रसंघले लिनुपर्छ ।”

उनले सगरमाथा अन्नपूर्ण आधार शिविरजस्ता ठाउँहरुको भ्रमण स्वयम महासचिवले गर्नुहुने भएकाले सेतो हिमाल कसरी कालो हुँदैछ, अतिवृष्टि र अनावृष्टि के कस्तो प्रभाव परयो भन्ने कुरा महसुस गर्न पाउने विश्वास पनि व्यक्त गरेका थिए ।

राष्ट्रपति पौडेलले शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय नहुने गरी अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासो यी सबैलाई ध्यान दिएर मेलमिलापको सिद्धान्तको आधारमा बाँकी काम पूरा हुने बताएका थिए ।

उनले अहिलेको जटिल विश्व राजनीतिक अवस्थामा राष्ट्रसंघको भूमिका अझ बढेको बताउँदै नेपाल राष्ट्रसंघीय शान्ति मिसनको दोस्रो ठूलो योगदानकर्ता मुलुक भएको स्मरण गराएका थिए । पौडेलले शान्ति सेनामा खटिएका नेपाली सेनाको नेतृत्व तहको जिम्मेवारीका लागि आग्रह गरेका थिए ।

सो अवसरमा महासचिव गुटेरेसले कार्वन उत्सर्जनमा नेपालको कुनै कमजोरी नहुँदा नहुँदै पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै ‘कोप’का सन्दर्भलाई लिएर जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिन आफ्नो नेपाल भ्रमण प्राथमिकतामा परेको बताएका थिए ।

आफ्नो नेपाल भ्रमण तीन एजेण्डामा केन्द्रित रहेको बताउँदै सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनिकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकोले यहाँ आएको बताएका थिए । उनले राष्ट्रपति पौडेलले शान्ति सम्झौताको मस्यौदा गरेको स्मरण गराउँदै उहाँकै कार्यकालमा यसको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरे ।

यता, गुटेरेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । सो क्रममा सभामुख घिमिरेले व्यस्तताबीच नेपाल भ्रमण गरेकोमा स्वागत गर्दै नेपाली जनता, नेपालको संसद र व्यक्तिगतरुपमा तपाईंको नेपाल भ्रमणको सफलताको शुभकामना व्यक्त गरे । त्यस्ते, गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

चार दिने नेपाल भ्रमणका क्रममा रहनुभएका गुटरेसले सोमबार र मंगलबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मंगलवार संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।