जिल्ला र पालिका अधिवेशनको तयारीमा एमाले - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

जिल्ला र पालिका अधिवेशनको तयारीमा एमाले


काठमाडौं । एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।

पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उनले बताए । पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैत्रमा पार्टी सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने भएको छ । गत साउनमा गरिएको पार्टी सदस्यता अभियान र नवीकरणमा करिब पाँच लाख ५० हजार पार्टी सदस्यता पुगेका छन् । केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचीमा रहेका पार्टी सदस्यले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउने छन् ।

यस्तै साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई पनि खुला गर्ने निर्णय गरेको विभागका सचिव ढुङ्गेलले जानकारी दिए । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न पाउने छन् । पार्टीले विभिन्न कारणले कारबाहीमा परेकालाई लिखितरुपमा आत्मालोचना गरेको अवस्थामा पार्टी काममा फर्काउने समेत निर्णय गरेको उनले जानकारी दिए ।

यता, अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत र अभिमत जितेर २०८४ मा एकल बहुमतको सरकार बनाउने बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्न पोखरा पुगेका अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनका कारण देश बर्वादीको दिशामा गएको दाबी गर्दै त्यसलाई रोक्न एमालेको नेतृत्व आवश्यक हुने बताए ।