गुटरेसको मुख्य एजेन्डा: शान्ति प्रक्रिया र जलवायुको असर - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

गुटरेसको मुख्य एजेन्डा: शान्ति प्रक्रिया र जलवायुको असर


काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन् ।

ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भने, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।”

सो अवसरमा महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सवल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गरे । उनले नेपाली जनतालाई केन्द्रमा राखेर आर्थिक–सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न सम्भव छ भन्ने दृढताका साथ सहयोग गर्न आग्रह गरेका छन् ।

शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रभावित समुदायलाई पुनःस्थापित गर्न र नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकका स्तरोन्नति गर्ने प्रक्रियाका विषयलाई प्राथमिकतामा राखेर आफ्नो नेपाल भ्रमण भएको महासचिव गुटेरेसले स्पष्ट पारे । उनले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाँदा पीडितलाई केन्द्रका राख्नुपर्ने स्मरण गराए ।

महासचिव गुटेरेसले विश्वमा कार्बन उत्सर्जनमा कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको मार नेपालले खेपेका र हिमशृङ्खला पग्लन थालेकामा चिन्ता गर्दै यसको असर नेपाल र समग्र विश्वलाई पर्ने भएकाले त्यस गम्भीरतालाई मनन् गरेर काम गर्नुपर्ने बताए ।

नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गरले राष्ट्रसङ्घको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गरे । संवैधानिक हकको कार्यान्वयन र समतामूलक समावेशी विकासका लागि आफूहरूले नेपाललाई निरन्तर साथ रहने उनको भनाइ थियो ।

कार्यक्रममा गायिका आनी छोइङ डोल्माले शान्तिभावका गीत प्रस्तुत गर्नुभएको थियो भने समारोहपश्चात् महासचिव गुटेरेसले राष्ट्रसङ्घ भवन परिसरमा वृक्षरोपण गरेका थिए । चार दिने भ्रमणमा लागि महासचिव गुटेरेस आइतबार बिहान १ बजे नेपाल आएका हुन् ।

त्यस्तै, गुटेरेसले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताएका छन् । सगरमाथा क्षेत्रको अवलोकनका लागि उनी सोमबार बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुगेका थिए । उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश दिँदै महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।

“म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्”, गुटेरेसले भनेका छन्, “हामीले बाढी पहिरो देख्नुपरेको छ । यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेको छ । हामीले यसलाई रोक्न जरुरी छ ।”

जलवायु परिवर्तनका असरले हिमालय क्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि आफूले विश्वसमुदायको ध्यानाकर्षण गराउन चाहेको उनले उल्लेख गरेका छन् । “हामीले बढ्दो तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्नसक्नुपर्छ । यसबाट हामी पछि हट्न सक्दैनौँ”, उनले भिडियो सन्देशमार्फत् भनेका छन् ।

त्यस्तै, पोखरा भ्रमणमा पुगेका गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत सोमबार दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो । मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका हुन् ।