एनआरएनए छिन्नभिन्न, कार्यालयमै पत्रकारलाई मुक्का - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

एनआरएनए छिन्नभिन्न, कार्यालयमै पत्रकारलाई मुक्का


काठमाडौं । २० बर्षअघि विश्वभरका नेपालीहरुलाई एउटा छानामुनी अटाउने उद्देश्यसहित स्थापना भएको गैर आवासीय नेपाली संघ(एनआरएनए)यतिबेला छिन्नभिन्न अवस्थामा पुगेको छ । संघको १०औं महाधिवेशनबाट असन्तुष्टी जनाउँदै अलग भएको संरक्षक शेष घलको नेतृत्वको एउटा समूहले अलग्गै महाधिवेशनको तयारी गरिरहेको छ ।

११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको अनलाइन मतदानका क्रममा गम्भीर प्राविधिक त्रुटी भेटिएपछि दुई हप्ताभित्र त्रुटीमाथि छानविनगरी प्रक्रिया अघि बढाउने सहमति विपरित कार्यकारी अध्यक्ष डा.बद्री केसी नेतृत्वको समूहले जबरजस्ती शपथ लिएपछि संघ थप विभाजित अवस्थामा छ । बेग्लै अधिवेशन गरेर आधिकारिकता लिने प्रयासमा रहेको महेशकुमार श्रेष्ठ र आरके शर्मा नेतृत्वको दुई तिहाइ बढी डेलिकेट्सहरुको समूहले आफ्ना गतिविधिहरुलाई तिब्रता दिएको छ ।

संस्थापकहरु, पूर्वअध्यक्षहरु र राजनीतिक दलका नेताहरुले आ–आफ्ना व्यक्तिलाई काखी च्याप्दा एनआरएनए यतिबेला मृततुल्य भएको छ । घले समूहको नेतृत्व गरिरहेका विनोद कुँवर, विधि, प्रक्रिया र सम्झौता विपरित शपथ खाएर स्वघोषित अध्यक्ष भएका डा.केसीको समूह र अलग्गै अधिवेशन गरेर नयाँ शिराबाट अघि बढेको आरके शर्मा नेतृत्वको समूहले एउटै लोगोमा आफ्ना गतिविधिहरु गरिरहेका छन् ।

तीन समूहको तीनखाले गतिविधिले विश्वभरका करिब एकलाख पंजीकृत सदस्य र ७० लाख बढी प्रवासी नेपालीहरु निराश छन् भने नेपाल सरकार अन्योलग्रस्त अवस्थामा छ । सरकारले कुनै निर्णय गर्न सकेको छैन । एनआरएनए एक स्वायत्त र स्वतन्त्र संस्था भएकाले सरकार हस्तक्षेप गर्ने मुडमा छैन भने पूर्वअध्यक्ष एवम संरक्षकहरु तैं चुप र मैं चुपको अवस्थामा छन् । जसका कारण मुलुकको समृद्धि र गैर आवासीय नेपालीहरुको हितमा काम गरिरहेको एक पवित्र संस्था विलखबन्दमा छ । विभाजित रहेको तीन समूह एक आपसमा दोषारोपण गर्न व्यस्त छन् । एकताका लागि वैकल्पिक बाटो अपनाउने सवालमा सबै मौन छन् ।

कुँवर नेतृत्वको समूहले त मार्च २ र ३, २०२४ मा काठमाडौंमा ११ औं महाधिवेशन गर्ने तयारी गरिरहेको छ । १८ देशमा एनसीसी गठन गरिसकेको दाबी गरेको छ भने महाधिवेशन अघि ४० देशमा गठन गरिसक्ने लक्ष्य लिएको छ । आरके–महेश समूहले एनआरएनएको १८ वटै बैंक खाता रोक्का गर्न लगाएर पुनःनिर्वाचन गराउनुपर्ने दबाब बढाएको छ । नभए आफ्नो समूहलाई बैधानिक दिन उसको माग छ । डा.केसी समूहले कुनै निर्णय दिन सकेको छैन । पुनःनिर्वाचन गराउँदा कुँवर–महेश–आरके समूह एक ठाउँमा आउने र आफू पत्तासाप हुने त्रासले जबरजस्ती संस्था कब्जा गर्ने दाउमा छ ।

यस्तो संवेदनशील अवस्थामा एनआरएनएको शाख र गरिमालाई जोगाउन नेपाल सरकार एवम पूर्वअध्यक्षहरुले तत्काल नयाँ निर्णय लिनुपर्ने अभियन्ताहरुले दबाब बढाउन थालेका छन् । एनआरएनएको विवाद उत्कर्षमा पुगेको प्रमाण बुधबार दिउँसो भएको घटनाले थप पुष्टि गरेको छ । एनआरएनएका अभियन्ता एवम पत्रकार ओम शर्मालाई एनआरएनएको मुख्यालय वालुवाटारमा एमाले निकट युवा संघका कार्यकर्ताले हातपात गरेपछि घटना पेचिलो बनेको छ ।

डा.केसी र एमाले नेता महेश बस्नेतसहितका नेताहरु सहभागी भएको कार्यक्रममा पुगेका चारदिशा अनलाइनका सम्पादक शर्मालाई बुधबार दिउँसो युवा संघका कार्यकर्ताले कुटपिट गरेका थिए । बेल्जियम निवासी शर्मा एनआरएनए अभियन्ता तथा नेपाल पत्रकार महासंघका बेल्जियम अध्यक्ष समेत हुन । शर्माको दाँतमा चोट लागेको छ ।

त्यस्तै मुख्यालयमा पुगेका संघका अध्यक्ष आरके शर्मा लगायतका अभियन्ताहरुमाथि अभद्र व्यवहार भएको शर्माले जानकारी दिए । उनले आफू घटनाका बीच उम्किन सफल भएपनि अन्य अभियन्ताहरुमाथि अभद्र व्यवहार भएको बताए ।

‘एनआरएनए मुख्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि आएको थिएँ । कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा संघको के कार्यक्रम हो ? भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो । ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो,’ पत्रकार शर्माले भने । विवादपछि शर्मा पक्षले घटनामाथि अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न महानगरीय वृत्त दरबार मार्गमा उजुरी दिएको छ।

घटनापछि एनआरएनए मुख्यालयमा अहिले प्रहरी पुगिसकेको छ भने तनाव साम्य भएको छ । घटनापछि महेश बस्नेतसहिका युवासंघका कार्यकर्ता बाहिरिएका छन् । केही साताअघि काठमाडौंको सोल्टी होटलमा भएको एनआरएनएको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको अनलाइन मतदानमा धाँधली भएपछि आरके शर्मा र डा. केसीले समानान्तर गतिविधि गरिरहेका छन् । विवाद बढ्न थालेपछि सरकारले एनआरएनएको कार्यालय आफ्नो नियन्त्रणमा राख्ने तयारी थालेको बुझिएको छ ।

अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम अस्वीकार गरेका छन् भने डा.केसीले आफू अध्यक्षमा विजयी भएको भन्दै शपथ लिइसकेका छन् । दुई साताभित्र मतदानमा भएको त्रुटीबारे अनुसन्धान गर्ने र त्यसपछि बाँकी प्रक्रिया अघि बढाउने सहमति विपरित डा.केसीले शपथ लिएपछि एनआरएनए विभाजित अवस्थामा छ ।