एनआरएनएको अनलाइन मतदान त्रुटीले राष्ट्रिय चुनावमा शंका - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

एनआरएनएको अनलाइन मतदान त्रुटीले राष्ट्रिय चुनावमा शंका


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्ने गरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी दिएका हुन् । उनले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताए। आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताए ।

साथै आगामी वैशाख महिनामा तीनै तहका निर्वाचन हुने भएको छ । सांसदहरुले तीनवटै तहको चुनाव एकैपटक गर्नु उपयुक्त हुने बताए । रिक्त रहेको स्थानमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका विभिन्न पदहरूमा आगामी वैशाख महिनामा निर्वाचन गर्ने गरी सरकारलाई परामर्श दिइएको उनको भनाई छ ।

त्यस्तै, एनआरएनएको चुनावमा भएको विवादले संसदीय समितिको छलफलमा प्रवेश पाएको छ । स्थानीय तह, प्रदेश र संघीय चुनावमा विद्युतीय मतदानको सम्भाव्यताबारे अध्ययन भइरहेका बेला एनआरएनएको चुनावमा भएको विवादले असर गरेको सांसदहरुको बुझाइ छ ।

एनआरएनएले नेपालबाट मतदान गर्नेहरुका लागि अनलाइन मतदानको व्यवस्था गरेको थियो भने विदेशबाट मतदान गर्नेहरुका लागि अनलाइन मतदानको व्यवस्था मिलाएको थियो । तर, निर्वाचन निष्पक्ष नभएको भनी प्रश्न उठेको छ । एनआरएनएको चुनावी विवादले अनलाइन र विद्युतीय मतदानमा हुन सक्ने चलखेलको आशंकालाई थप बढावा दिएको कांग्रेसकी सांसद सरिता प्रसाईंले बताइन् ।

‘मतदानमा डिजिटल भन्ने विषय एनआएनएमा देख्यौं । जो उम्मेदवार छ उसको मत शून्य भएको पनि पाइयो’, उनले भनिन् । नेपालको सन्दर्भमा अनलाइन वा विद्युतीय मतदान प्रयोग गर्न सक्ने बेला नभएको उनको भनाइ छ । कांग्रेसकै अर्की सांसद अम्बिका बस्नेतले पनि एनआरएनएको चुनावी विवादका कारण अनलाइन र विद्युतीय मतदानका सन्दर्भमा आशंका गर्नेहरुलाई बल पुर्‍याएको बताइन् ।

‘विदेशमा रहेका नेपालीले मताधिकार पाउने विषय त आयो । यो कसरी हुन्छ ? कसरी निष्पक्ष हुन्छ’, उनले निर्वाचन आयोगलाई प्रश्न गर्दै भनिन्, ‘एनआरएनको चुनावमा त विवाद आयो । यसलाई कसरी हेर्ने ?’ एनआरएनएको चुनावमा भोट हालेपछि कसलाई भोट हालेको भनी देख्न नसक्ने लगायतका समस्या देखा परेको बताइएको उनले स्मरण गरिन् ।

एनआरएनएको ११ महाधिवेशनबाट कात्तिक ३ गते काठमाडौंमा भएको अनलाइन मतदानका क्रममा गम्भीर त्रुटी भेटिएपछि शंका उत्पन्न गराएको छ । भौतिक उपस्थिति साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटि देखिएपछि एनआरएनए नै विभाजित भएको छ ।