मन्त्री शर्मा भन्छिन- धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव छ - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

मन्त्री शर्मा भन्छिन- धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव छ


दाङ । सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकी छन् । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई लोकतन्त्रले सुनिश्चित गर्ने बताएकी हुन् ।

नेपाल धार्मिक रुपमा अत्यन्तै राम्रो सद्भाव कायम राखेर बसेको समाज रहेको बताउँदै मन्त्री शर्माले लोकतन्त्रले सबै जाति, भाषा, धर्म र संस्कृतिको संरक्षण गर्ने धारणा राखिन । ‘हामी हिन्दु, मुश्लिम, बौद्ध, ईसाई लगायत सबै धर्म मान्ने मान्छेहरु एक आपसमा मिलेर बसेका छौं’– उनले भनिन– ‘विविधताभित्रको एकता हाम्रो पहिचान हो, यसलाई अझै समृद्ध बनाउन लोकतन्त्रले मात्रै सक्छ, निरंकुशतन्त्रमा जनताको विविधतायुक्त संस्कृतिको संरक्षण हुँदैन ।’

नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक रहेको स्पष्ट गर्दै उहाँले सबै समुदायको अधिकार यसबाटै सुनिश्चित हुने बताइन । ‘हामीले धर्मनिरपेक्ष भन्नाले सतातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई संविधानमै सुनिश्चित गरेका छौं’– मन्त्री शर्माले भनिन ।

बेला बेलामा देशका केही स्थानमा धार्मिक सद्भाव बिथोल्ने गतिविधी हुने गरेको बताउँदै उनले सबै धर्मको सम्मान गरेर धार्मिक सद्भाव कायम गर्नु हर नागरिकको दायित्व हुने बताइन । संविधानले सुनिश्चित गरेको धार्मिक सांस्कृतिक अधिकारको संरक्षणमा सरकार दृढ रहेको पनि उनले स्पष्ट गरिन ।
जोतिषशास्त्र गणितीय सूत्रमा आधारित विज्ञान भएकाले उल्लेख गर्दै उहाँले यस क्षेत्रमा अझै बढी खोज अनुसन्धान आवश्यक रहेको बताइन ।

ज्योतिषशास्त्रलाई अन्धविश्वासबाट मुक्त गरेर गणितीय विज्ञानको रुपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै उनले दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले ज्योतिषशास्त्रसहित समग्र पूर्वीय दर्शनको अध्ययन अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेसंविलाई नेपालको मात्र नभई विश्वकै पूर्वीय अध्ययनको केन्द्र बनाउनुपर्नेमा उहाँले जोड दिइन ।

हरेक दर्शनले जीवन दर्शन सिकाउने र त्यसका आधारमा मानव सभ्यताको विकास हुने उल्लेख गर्दै मन्त्री शर्माले पूर्वीय दर्शनले मानव समाजलाई सकारात्मकतातर्फ अघि बढाउने बताइन । जोतिषशासत्रमा आबद्ध हुने युवाहरुको संख्या बढ्नुको खुशीको कुरा भएको औल्याउँदै उनले यसको खोज, अनुसन्धान र प्रयोगलाई समयानुकुल प्रविधिसँग जोडेर लैजानुपर्ने बताइन । दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट करिव आठ सय जना प्रतिनिधि सहभागी छन् । अध्यात्म सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।