नेपाल दोस्रो पटक विश्वकपमा - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

नेपाल दोस्रो पटक विश्वकपमा


काठमाडौँ । नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छानिन सफल भएको छ । विश्वकप टी–२० को एसिया छनोट अन्तर्गत प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल दोस्रो पटक विश्वकपमा छानिएको हो ।

नेपालले सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई ८ विकेटले हराएको हो । मूलपानी क्रिकेट मैदानमा जितका लागि १३५ रनको सामान्य चुनौती नेपालले १७।१ ओभरमा २ विकेट गुमाएर जित हासिल गर्यो । नेपालका लागि आसिफ शेखले ५० बलमा अविजित रहँदै ६३ रन बनाए भने कप्तान रोहित पौडेलले २१ बलमा अविजित रहँदै ३५ रन जोडे ।

गुल्सन झाले २४ बलमा २२ रन तथा कुशल भुर्तेलले ११ रन बनाए । यसअघि टस जितेर यूएईले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रन बनायो । भृत्तिय अरविन्दले सर्वाधिक ६४ रन बनाए । त्यस्तै कप्तान मुहम्मद वासिमले २६ तथा अलिशान शराफूले १६ रन जोडे ।नेपालका लागि कुशल मल्लले ११ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।

उत्कृष्ट फिल्डिङ गरेको नेपालले दुई खेलाडीलाई रनआउट गरेको थियो । नेपाल समूहको उपविजेता हुँदै सेमिफाइनलमा अर्को समूहको विजेता यूएईलाई प्रतिद्वन्द्वी पाएको थियो । विश्वकप एक दिवसीयको समेत अनुभव बटुलिसकेको यूएई अझै पनि नेपालजस्तै एसोसिएट राष्ट्रमै रहेर संघर्ष गरिरहेको छ ।

नेपालको भन्दा धेरै अनुभव भएको भए पनि नेपालले यूएईलाई नै हराएर एक दिवसीय विश्वकपको सिधै छनोट चरणमा प्रवेश गरेको थियो । यूएईलाई नै हराएर नेपालले एक दिवसीय मान्यतालाई कायम गरेको थियो भने यूएईलाई नै हराएर नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाएको थियो ।

आज फेरि यूएईलाई नै हराएर नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न पाएको हो । नेपालले पहिलो पटक सन् २०१४ को बंगलादेश टी–२० विश्वकप खेलेको थियो भने एक दशकपछि सन् २०२४ को जुन ४ देखि ३० सम्म वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकप खेल्न आतुर देखिएको हो ।

अर्को सेमिफाइनलमा विजयी हुँदै ओमान फाइनलमा पुगेको छ । फाइनलमा पुगेसँगै ओमान विश्वकपमा छानिएको छ । त्रिविविको मैदान कीर्तिपुरमा ओमानले बहराइनलाई १० विकेटले हरायो । १०७ रनको झिनो चुनौती ओमानले १४.१ ओभरमै कुनै विकेट नगुमाइ पूरा गरेको हो ।

कश्यप प्रजापतीले ४४ बलमा ५७ तथा प्रतिक अथाभालेले ४१ बलमा ४८ रन बनाए । खेलमा पहिले ब्याटिङ गरेको बहराइनले ९ विकेटको क्षतिमा १०६ रन बनायो । इमरान अलीले सर्वाधिक ३० रन बनाएको इनिङ्समा अकिब इल्यासले ४ विकेट लिए ।

छनोटको फाइनलमा पुग्ने दुवै टिम विश्वकपमा पुगेका हुन् । फाइनल खेल आइतबार हुनेछ । विश्वकपमा वरीयताप्राप्त १२ टिमहरुले स्वतः विश्वकप खेल्नेछन् भने बाँकी ८ टिमको अहिले भइरहेको छनोट जस्तै तरिकाले छनोट भइरहेको छ । २०२४ को विश्वकपमा २० टिम सहभागी हुनेछन् ।