कोशी प्रदेश सरकारमा गडवड शुरु - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

कोशी प्रदेश सरकारमा गडवड शुरु


काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुलाई मन्त्री नियुक्त गरेपछि एमाले प्रदेश सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको छ । एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने भन्दै सरकारबाट बाहिरिने बताए । कोशी सरकारमा एमालेका रामबहादुर राना मात्र मन्त्री रहेका छन् ।

उनलाई कुनै मन्त्रालयको जिम्मा नदिइ बिना विभागीयमा राखिएको थियो । तर १७ दिनको सत्ता सहयात्रापछि मुख्यमन्त्री कार्कीले माओवादी र नेकपा एसलाई समावेश गरेसँगै एमालेले बाहिरिने निर्णय गरेको हो ।

एमाले संसदीय दलका नेता कार्कीले आफूहरुसँग कुनै जानकारी पनि नगराइएको र सरसल्लाहसमेत नभइ गठबन्धनलाई समावेश गरिएको भन्दै केन्द्रको दुर्गन्धित गठबन्धनमा नजोडिने बताए ।

यसअघि पनि एमालेले कांग्रेस बाहेक अन्य दलहरुलाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो । मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादीका गणेश उप्रेती र एसका गणेशप्रसाद जबेगूलाई मन्त्री नियुक्त गरेका छन् ।

एमालेका ४० र कांग्रेसका ८ सांसदहरुको समर्थनमा कांग्रेसबाट विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार दाबेदारी पेश गर्दै केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले यसअघि कांग्रेसका शम्शेर राईलाई पनि मन्त्री बनाएका थिए ।

एमाले बाहिरिने भएसँगै केन्द्रको गठबन्धन जसरी नै कोशीमा पनि सरकारले निरन्तरता पाउने भएको छ । यता, मुख्यमन्त्री कार्कीले आफूले सहमतीय सरकार बनाउने प्रयास गरेको बताएका छन् । उनले आफूले पूर्वमुख्यमन्त्री हिक्मत कार्कीकै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको बताए ।

विश्वासको मत नपाएर यसअघि दुई जना मुख्यमन्त्री सरकारबाट बाहिरिनु परेको भन्दै उनले आफूले पाएको विश्वासको मतको सम्मान गर्दै र पूर्व मुख्यमन्त्री कार्कीले भन्ने गरेको सहमतीय सरकारकै एजेण्डा अनुसार आफू अघि बढेको उनले बताए ।