सुपर ओभरमा ओमानले नेपाललाई हरायो, दुवै टिमले विश्वकप खेल्ने - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

सुपर ओभरमा ओमानले नेपाललाई हरायो, दुवै टिमले विश्वकप खेल्ने


काठमाडौँ । विश्वकप टी–२० क्रिकेटमा छनोट भइसकेका नेपाल र ओमानबीचको एसिया छनोटको उपाधि ओमानले जितेको छ । फाइनलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।

त्रिविविको मैदान कीर्तिपुरमा उपाधिका लागि १८५ रनको चुनौती पछ्याएको ओमानले समान १८४ रन नै बनाएपछि सुपर ओभरमा नेपाललाई हराएको हो ।
सुपर ओभरमा ओमानले कुनै पनि विकेट नगुमाइ २१ रन जोडेकामा नेपालले १ विकेटको क्षतिमा १० रनमात्र बनाउन सक्यो ।

यसअघि ओमानले १८५ रनको चुनौती पछ्याउने क्रममा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । कश्यप प्रजापतीले ६३ रन बनाएको इनिङ्समा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए ।

यसअघि खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १८४ रन बनाएको हो । नेपालले कमजोर शुरुआत गरेको भए पनि कप्तान रोहित पौडेल र गुल्सन झाबीच पाँचौँ विकेटका लागि भएको ७८ रनको साझेदारीले नेपाल सम्मानजनक योगफल जोड्न सफल भएको हो । गुल्सनले २० बलमै अर्धशतक पूरा गर्दै ४ छक्का र ५ चौकाको मद्धतले २५ बलमा ५४ रन बनाए । त्यस्तै रोहितले ३७ बलमा ५२ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल २२ बलमा ३१,सन्दीप जोरा १३ बलमा १०, आसिफ शेख ६ बलमा ६, कुशल मल्ल ९ बलमा ३, विवेक यादव ३ बलमा १, बनाएर आउट भए । करण केसीले ६ बलमा अविजित रहँदै २० रन बनाए ।बिलाल खानले ३ तथा अकिब इलियासले २ विकेट लिए ।

समूह चरणमा ओमानले नेपाललाई ५ रनले हराएको थियो । नेपालले सेमिफाइनलमा यूएईलाई र ओमानले बहराइनलाई हराएको थियो । यो खेलपछि ओमान च्याम्पियन तथा नेपाल उपविजेता बन्दै विश्वकप २०२४ का लागि छानिएको हो ।

सन् २०२४ मा अमेरिका र वेष्टइन्डिको संयुक्त आयोजनामा विश्वकप टी–२० हुँदैछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्नेछ । यसअघि सन् २०१४ मा खेलेको थियो । ओमानले तेस्रोपटक विश्वकप खेल्नेछ ।

विश्वकपमा वरीयताप्राप्त १२ टिमहरुले स्वतः विश्वकप खेल्नेछन् भने बाँकी ८ टिमको अहिले भइरहेको छनोट जस्तै तरिकाले छनोट भइरहेको छ । २०२४ को विश्वकपमा २० टिम सहभागी हुनेछन् ।