जनयुद्धलाई दबाइए चिहानबाट भएपनि उठ्छ - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

जनयुद्धलाई दबाइए चिहानबाट भएपनि उठ्छ


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् । बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजेपनि पटक–पटक उठिराख्ने बताए । उनले जनयुद्धलाई दबाइए चिहानबाट भएपनि फेरि उठ्ने बताए ।

प्रधानमन्त्री दाहालले हजारौं मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने बताउँदै आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको बताए । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भुमिका खेलेको भन्दै उनले उहाँको सो भुमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताए ।

प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठूलो जनताको तहबाट भएको बिद्रोह र पहलकदमी भएको उल्लेख गरे । उनले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको आधिकारिकक र प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले अहिले जनयुद्धलाई विद्रुपिकरण गरेर निरंकुशतालाई अगाडी ल्याउने जमर्को भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले पूर्वउपराष्ट्रपति पुनले पुस्तकमा कतिपय घटनाक्रमहरु सिधा सिधा लेखेको भन्दै त्यसको गलत व्याख्या हुन सक्ने बताए । उनले पुस्तकमा लेखिएको कतिपय घटनाक्रमहरुको गलत व्याख्या भएमा लेखकको इमान्दारिता माथि अन्याय हुने बताए । उनले पुस्तकमा लेखिएको कुरालाई लेखकको पारदर्शिता, इमान्दारिता र निष्ठाको रुपमा बुझ्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरुको बारेमा उल्लेख गरिएको बताए । उनले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको बताए । त्यस्तै, उनले नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भुमिकाका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको बताए ।