नेविसंघ केन्द्रीय टोली जाजरकोटमा, विद्यालय पुननिर्माणमा सहयोग गर्ने - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

नेविसंघ केन्द्रीय टोली जाजरकोटमा, विद्यालय पुननिर्माणमा सहयोग गर्ने


जाजरकोट । नेपाल विद्यार्थी संघले भूकम्पप्रभावित क्षेत्रका २ वटा विद्यालयको पुननिर्माण गर्ने घोषणा गरेको छ । भूकम्पप्रभावपत क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् । भूकम्पमा परि निधन भएकी नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुननिर्माण गर्ने भएको छ ।

‘यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहार पछि नेविसघले अस्थायी रुपमा बनाउने जानकारी गर्दछौ साथै जाजरकोट जिल्लाको भेरी नगरपालिका स्थित वडा नं। ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, जाजरकोट र नलगाड नगरपालिका वडा नं.५ स्थिति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्पूर्ण रुपमा पुन निर्माण गर्न प्रतिवद्धता गर्दछौँ’, अध्यक्ष शेर्पाले भने,‘यसका साथै यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहार पछि नेविसघले अस्थायी रुपमा बनाउने समेत जानकारी गर्दछौ ।’

त्यस्तै नेविसंघले तथ्याङ्क संकलन समिति र नेपाल सरकारको सुचना केन्द्रेको जानकारी बमोजिम पूर्ण रुपमा घर क्षति भई अभिभावकविहीन भएका बालबालिकाहरूको पहिचान गर्ने र विद्यार्थीहरू माझ परेको मनोवैज्ञानिक असरलाई समेत हटाउन सहयोग गर्ने पनि उनले बताए । यस क्षेत्रका बालबालिकाहरूलाई शिक्षाको अवसरबाट बञ्चित हुन नदिन नेविसंघले सक्दो प्रयास गर्ने नेविसंघको प्रतिवद्धता छ । रुकुम पश्चिम र जाजरकोट गरी ३९८ विद्यालय पूणर्रुपमा क्षतिग्रस्त भई ५० हजार भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

नेविसंघ केन्द्रीय कार्यसमितिले उपचारका लागि शनिबार डा नरेश भट्टको संयोजकत्वमा स्वास्थ्यकर्मीको समुह पनि परिचालन गरेको छ । समुहमा डाक्टरहरू सुलभ आचार्य, सुमित बोहरा ,अमृत बस्नेत समेत खटिएका छन् । ‘उक्त समुहले भूकम्प प्रभावित क्षेत्रमा बिरामीहरूको उपचार गरिरहेको जानकारी गराउँदछु । नेविसंघ पूर्वकालिन तयारीमा रहेको र पुनर्निर्माणको कार्यक्रमका बेला नेविसंघ केन्द्रले वृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराउँदछु,’ नेविसंघको विज्ञप्तिमा भनिएको छ ।