युरोपेली आकाशमा नेपाली विमानमाथि लागेको प्रतिबन्ध हटाउन आग्रह - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

युरोपेली आकाशमा नेपाली विमानमाथि लागेको प्रतिबन्ध हटाउन आग्रह


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच भेटवार्ता भएको छ । भेटका क्रममा युरोपिएन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गर्ने विषयमा छलफल भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच सोमबार सिंहदरबारमा भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित, सहयोगलगायत विविध विषयमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपिएन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन अध्यक्ष बट्टिमरलाई आग्रह गरे । हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको भन्दै उनले आयरल्याण्ड इयुको सक्रिय सदस्य भएका कारण नेपाली बिमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन आवश्यक भूमिका खेलिदिन आग्रह गरे ।

जवाफमा आयरल्याण्डका माथिल्लो सदनका अध्यक्ष बुटिमेरले आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने बिषयमा संवाद् र छलफल अगाडि बढाउने बताए । आयरल्याण्डमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको विकास र समृद्धिमा लगाउन सकिने बताए । दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन संसद् र सांसद्हरुको महत्वपूर्ण भूमिका रहने बताए ।

सन् २०२६ सम्म अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने नेपाल सरकारको उद्देश्य रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले त्यसलाई दिगो, अपरिवर्तनीय तथा सहज बनाउन ठूलो साधन(स्रोतको आवश्यकता पर्ने बताए । यसका लागि युरोपेली संघ लगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगको खाँचो रहने पनि उनले बताए । अध्यक्ष तिमिल्सिनाले व्यापार, लगानी तथा पर्यटनका क्षेत्रमा दुई देशले साझेदारी विस्तार गर्दै लैजानुपर्ने पनि बताए ।

भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दामा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको भन्दै अध्यक्ष बट्टिमोरले आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान नेपाल आएका हुन् । उनी ५ दिन नेपालमा रहनेछन् । अध्यक्ष बट्टिमोरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गर्ने कार्यक्रम छ । नेपालमा रहँदा उनले नारायणहिटी दरबार संग्राहलय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भु लगायतका ठाउँको भ्रमण गर्ने कार्यक्रम पनि छ ।