‘तपस्वी’ बम्जन प्रहरी नियन्त्रणमा, हत्यादेखि आनी बेपत्ता पारेको आरोप - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

‘तपस्वी’ बम्जन प्रहरी नियन्त्रणमा, हत्यादेखि आनी बेपत्ता पारेको आरोप


काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन(तपस्वी) पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

कडायतले भने,‘विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट मंगलबार साँझ ७ बजे पक्राउ गरेको हो ।’ बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।

उनी दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार, मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेपछि उनले प्रहरीसँग दुई महिनादेखि त्यहाँ बस्दै आएको बताएका छन् ।

बम्जनको श्रीमतीलाई प्रहरीले ट्रयाक गरिरहेको थियो । एक महिनाअघि उनको बच्चा जन्मिएको थाहा पाएपछि खोजीलाई तीब्र पारिएको थियो । त्यही आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो । पक्राउ परेपछि गरिएको प्रारम्भिक सोधपुछमा उनले आफू कहिले सिन्धुली त कहिले मकवानपुरको जंगलमा बस्दै आएको बताएका छन् ।

मध्य तराईको बाराको एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बम्जनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए । त्यतिबेला १६ वर्षीय बम्जनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए । ध्यानमा रहेका बेला उनी सेतो पातलो कपडामा थिए भने आँखा बन्द थियो । यसरी ध्यानमै बसेपछि उनी एकाएक चर्चामा आएका थिए । उनको चर्चा अन्तर्राष्ट्रियस्तरसम्मै भयो ।

उनी ध्यानमा बसेको स्थानमा स्थानीयवासी मात्र होइन, बाहिरबाट तीर्थयात्रीहरू पनि आउन थाले । यसै बेला उनी ध्यानमा बसेको एक तस्वीर विश्वचर्चित नै बन्न पुग्यो । यसरी बौद्ध धर्मावलम्बीका उनी एक पूज्य व्यक्ति नै बन्न पुगे । तर, उनको उपासनामा रहेका भक्तजन नै यौनशोषणको सिकार बनेको र हत्या भएको चर्चाले उनी लुकेर हिँड्नुपर्ने अवस्था आयो । उनका आश्रममा आनीहरूमाथि यौनशोषण भएको र उनीहरूको हत्या भएको आरोप छ । उनको आश्रमबाट केही व्यक्तिहरू बेपत्ता भएका समाचाहरू आएपछि उनी आबद्ध संस्था, बोधी श्रवण धर्म संघले एक विज्ञप्ति निकाल्दै त्यसको खण्डन गरेको थियो ।

बम्जन आबद्ध धार्मिक संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को अप्रिल १० तारिखमा रतनपुर, बारामा भएको थियो । उनका मातापिता किसान थिए । उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो । उनका ५ छोरा र ४ छोरी छन् । रामबहादुर तेस्रो छोरा हुन् ।

उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको चर्चा चल्ने गर्छ । उनका अनुयायीहरूले बम्जन ६ महिनासम्म पानीसमेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने बताएका थिए । गौतम बुद्धको आमाको नाम मायादेवीसँग बम्जनकी आमाको नाम पनि मिलेका कारण स्थानीयहरूले उनले गरेको तपस्यालाई गौतम बुद्धसँग जोडेर हेरेका थिए ।

त्यसो त तपस्या सुरु गर्नुअघि नै उनले आफ्नो परिवारका अन्य सदस्यलाई पशुबलि नदिन, माछा मासु र रक्सी सेवन नगर्न आग्रह गर्ने गरेको पनि बताइन्छ । तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो । १६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बम्जन पहिलोपटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए ।

अनुयायीहरूले बिस्तारै बम्जन ध्यानमा बसेको क्षेत्रलाई लुङ्ता छोर्तेनजस्ता धार्मिक ध्वजापताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिकस्थलमा परिणत हुँदै गएको थियो ।