‘तपस्वी’बम्जनको विलासी जीवन: घरमै जिमखाना - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

‘तपस्वी’बम्जनको विलासी जीवन: घरमै जिमखाना


काठमाडौँ । बाल यौन दुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बमजनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

नेपाल प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नवबालिकामाथि यौन दुराचार गरेको अभियोग लागेका बमजनलाई खोजी गर्दै आएकोमा मंगलवार बेलुका उनको काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गर्न सफल भएको थियो । थप अनुसन्धानको क्रममा उनको घरबाट ठुलो धनराशी बरामद गरिएको पनि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)दिनेश आचार्यले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरू रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४०६ हुन्छ । त्यसै गरी प्रहरीले उनको घरबाट १४ थान मोबाइल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाइकल पनि फेला पारेको छ ।

बमजन आश्रमबाट बेपत्ता पारिएकाका परिवारले भन्यो ‘मरेको भए लास पाउँ, जिउँदै भए भेट्न पाउँ’ एसएसपी आचार्यले भने, ‘लामो अनुसन्धान र प्रयासपछि केन्द्रीय अनुसन्धान ब्युरोद्वारा रामबहादुर बमजन भनिने रामलाल बमजनलाई हिजो बेलुकी हात्तिगौँडाबाट पक्राउ गर्न सफल भएका छौं । विशेष गरेर २०७६ सालमा सर्लाहीमा एक जना नवबालिकालाई बालयौन दुराचार बलात्कारको केशमा निज रामबहादुर बमजनको खोजी भइरहेको अवस्था थियो ।

यसै सन्दर्भमा विभिन्न मानिसहरू पनि हराइरहेको भन्ने सूचना पनि प्रहरीसँग आएको थियो । निज बमजनको खोजी केन्द्रीय अनुसन्धान ब्यूरेले लामो समयदेखि गरिरहेको अवस्था हो । र यसै पक्राउको सन्दर्भमा हिजो निजलाई पक्राउ गर्दा खेरी निजको निवासबाट ठुलो सङ्ख्यामा नेपाली रुपैयाँ टोटल ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ विभिन्न देशका मुद्राहरूको नेपाली रुपैयाँमा कन्भर्ट गर्दा खेरी ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको थियो । र यो नगदको साथसाथै अन्य थुप्रै सामानहरू बरामद गरिएको छ । जसमा मोबाइल १४ थान, आईप्याड ५ थान र निजको साथमा २ वटा गाडीहरू र ४ वटा मोटरसाइकल पनि रहेको पाइएको छ । थप अनुसन्धानको काम पनि भइरहेको छ । ’

ब्युरोले पक्राउ परेका बमजनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनीमाथि आफ्ना चेलाहरूको हत्या गरेको आरोप पनि लगाइएको छ । त्यसै गरी बमजनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठुलो धनराशिबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सीआईबीले जनाएको छ ।

बमजन चढ्ने गरेको प्रदेश–३–०१–०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ। यस्तै सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी बरामद भएको छ। उक्त गाडी ललितपुर–२२ बुङमती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा रहेको खुलेको छ।

उक्त गाडी धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि शोरूममा पाँच करोडमा बुक भएकोमा ३ करोड नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ । उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार ओटा मोटरसाइकल बरामद भएको ब्युरोले जनाएको छ।

बरामद अन्य सामानमा मोटरसाइकलका बिलबुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेनड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आइप्याड र ट्याब ५ थान छन्। बमजनमाथि बलात्कार, हत्या तथा व्यक्ति बेपत्ता पारेको आरोप छ। बमजनलाई आजै सर्लाही पठाउने तयारी ब्युरोको छ।

बमजनलाई पक्रन ब्युरोका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो। टोली पुग्दा उनी भाग्न खोजेका थिए। बमजन चार तले घरको चौथो तलाबाट खाली जमीनमा हाम्फालेका थिए। प्रहरीले उनलाई त्यहीँ पक्रेको थियो।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मंगलबार घरमा प्रहरी पुग्दा उनको घरको मूल ढोका बन्द थियो । प्रहरीलाई एक्कासि घरभित्र छिर्न सक्ने अवस्था थिएन । बलजफ्ती ढोका खोलेर जाँदा उनी भाग्ने सम्भावना पनि उत्तिकै थियो ।

त्यही कारण ६ बजे नै घर पत्ता लागाएको प्रहरीले भित्र छिर्ने उपायको खोजी गर्दा एक घण्टा लाग्यो । प्रहरीले बम्जनको घरभित्र छिर्न प्रयास गरिरहेकै बेला एकजना उनको घरमा पानीको जार पुर्‍याउने मानिस आइपुगे ।

उनले घरको बेल दिए । सधैँ पानी पुर्‍याउने मानिस घरभित्र पस्नासाथ प्रहरीको टोली समेत उनीसँगै भित्र पस्यो । सीसीटीभी मनिटरिङ गर्ने रुममा त्योबेला कोही थिएन । बम्जन तरकारीसित रोटी खादैँ थिए । त्यहीबेला प्रहरी भित्र छिरेको चाल पाएर भाग्न खोज्दा उनी प्रहरीको नियन्त्रणमा परेका हुन् ।

सीआईबीले पक्राउ गरेर ल्याएलगत्तै उनीमाथि सोधपुथ र बयान लिने प्रयास गरेको थियो । तर, प्रहरी अधिकारीसँग बम्जनले आफू तवस्वी र गुरु भएकाले बाहिरी संसारबारे कुनै जानकारी नै नरहेको प्रतिक्रिया दिएका छन् ।

उनले सोधपुछ गर्ने प्रहरी अधिकारीसँग भनेका छन्, ‘मलाई किन यस्तो आरोप लाग्यो ? मलाई थाहा छैन । खासमा प्रहरीले मलाई खोजेको बारेमा पनि बेखबर छु । म जीवन दर्शन कोरेर बस्ने मानिस हुँ ।’ प्रहरीले यसअघि उनको सिन्धुलीको आश्रममा पनि छापा मारेको थियो । उनले आश्रमभित्र स्विमिङ पुलदेखि जिम खानासम्म निर्माण गरेर विलासी जीवन बिताएको खुलाएको थियो ।

तर, उनी हात्तीगोडास्थित घर भित्रसमेत सोही प्रकृतिको संरचना खडा गरेर बसेको खुलेको छ । चारतले घरको सबैभन्दा माथिल्लो तलामा उनले जिमखाना राखेका थिए । अति जरुरी कामबिना बाहिर ननिस्कने बम्जनले घरभित्र बिहान बेलुका जिम गर्ने र दिउँसो समयमा ध्यान गर्ने गर्थे । अटेच बाथरुमसहितको उनको सुत्ने कोठा छ । उनी आफू घरको तेस्रो तलामा बस्दै आएका थिए ।