सजाय तोकिएपछि सन्दीपले रोजे उच्च अदालतको ढोका - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

सजाय तोकिएपछि सन्दीपले रोजे उच्च अदालतको ढोका


काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय तोकेको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको हो ।

अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहीता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम तीन लाख जरिबाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिबाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्ति बापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (६) (१) ०७९/०८० लाई भराइदिने ठहर गरको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए ।

जिल्ला अदालत काठमाडौंको फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानूनी उपचारका लागि उच्च अदालत जाने उनका वकील सरोजकृष्ण घिमिरेले बताए । लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका हुन् ।

अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको तर्कसमेत गरे ।

अधिवक्ता घिमिरेले सो सम्बन्धी सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरूले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा आफूहरूले भाग लिएको बताए । लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस भन्ने आफूहरूको भनाई रहेको उनले बताए ।