ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ संक्रमण दर बढ्दो - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ संक्रमण दर बढ्दो


काठमाडौं । पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो । तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार चार सय ४४ व्यक्ति नेपाल भित्रिएका छन् । कोरोना सङ्क्रमित आठ व्यक्तिको नमुना सङ्कलन गरी थप परीक्षणका लागि क्षेत्रीय प्रयोगशालामार्फत केन्द्रमा पठाइएको थियो ।

गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउद कोरोना भाइरसका सङ्क्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न सुझाव दिए । “सीमानाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमित बढ्दै गएको देखिएको छ”, उनले भने, “हेल्थ डेस्कमा नमुना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी, एन्टिजेनको कीट ,मास्क ग्लब्सलगायतका सामग्री पर्याप्त छन् ।”

उनले सङ्क्रमितलाई होम आइसोलेशनमा बस्न र सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह दियएको र सम्बन्धित पालिकासँग समन्वय गरिरहेको जानकारी दिए ।

केही दिन अघि नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस संक्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ संक्रमण दर बढिरहेको पाइएको थियो । इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)गर्दा १६ पोजेटिभ नमूना परीक्षण गर्दा सात जनामा ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको थियो ।

मन्त्रालयले संक्रामक दर बढी भएकाले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को नयाँ सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सबै हेल्थ डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक ‘स्किनिङ्ग’ र निगरानी गरिरहेको जनाएको छ ।