मुद्दा मामिला र स्वार्थले एनआरएनए बाँच्दैन् - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

मुद्दा मामिला र स्वार्थले एनआरएनए बाँच्दैन्


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष कुल आचार्यले पद र स्वार्थका कारण तीन दिशामा फर्किएको संघलाई दुरुपयोग हुन नदिन सबै पक्षले आपसी सहमति गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।

उनले वर्तमान अवस्थाको संघलाई पद केन्द्रीत हुनबाट रोकेर संसारभरी रहेका नेपालीको हित हुने कार्य गर्नेगरी पुरानै अवस्थामा फर्काउनुपर्ने बताए। संघभित्र देखिएको समस्या समाधान गर्न के गर्नुपर्छ भन्ने प्रश्नमा आचार्यले भने, ‘महाधिवेशनको एउटा पाटो जुन निर्वाचन थियो त्यसमा मात्रै केन्द्रीत रहेर केही साथिहरुले जसरी हुन्छ चुनावलाई आफ्नो पोल्टामा राख्नेगरी यो संस्थाको कतै न कतै दुरुपयोग गरिरहेको भान भएको छ।’

उनले आफ्नो कार्यकालमा पदलाई भन्दा गैर आवासीय नेपालीको समस्या र मुद्दालाई केन्द्रमा राखेर काम गरेको उल्लेख गर्दै थपे, ‘पछिल्लो समय तीनवटा समूहमा गैर आवासीय नेपाली संघ देखिएको छ। स्वार्थ राखेर पदको लागि लालायित बन्ने कुराले संस्थालाई दुरुपयोग गरिएको अवस्था छ। दुरुपयोग बन्द गरेर संस्थाको हितको लागि, बाहिर बस्ने नेपाली र नेपालको समेतको हितको लागि सबै पक्ष एक स्टेप माथि उठेर एक ठाउँमा बसेर सहमति गरेर अगाडि बढ्नुको विकल्प छैन।’

उनले १० औं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएका विभिन्न समूहलाई मिलाउन प्रधानमन्त्रीको पहलमा असारमा भएको एकतासम्बन्धी चार बुँदे सहमतिलाई समेत कार्यान्वयन नगरेको भन्दै डा.बद्री केसी नेतृत्वको समूहले संस्थाको दुरुपयोग गर्न रोक्नुपर्ने बताए।

‘जो आफैं देशको प्रधानमन्त्रीको अगाडि बसेर गरेको सहमतिमा हस्ताक्षर गरेर आए,त्यसलाई पनि सदुपयोग र कार्यान्वयन नगर्ने र जुन किसिमबाट आफैं यो संस्थालाई हाँक्छु,अगाडि लिएर लैजान्छु भन्ने नेताज्यूहरु हुनुहुन्छ उहाँहरुले संस्थालाई दुरुपयोग गरेको र मिलाउन भन्दापनि बिखण्डन गरेर सानो गुटमा रमाउन खोजेको पाइएको छ। त्यसलाई बन्द गरेर समग्र नेपाली डायस्पोरालाई अगाडि बढाउन र त्यसमार्फत नेपालको विकासमा आउनको लागि म सबै पक्षलाई अनुरोध गर्छु।’

निर्वाचनको समयमा पदको दुरुपयोग गर्नेमा तपाईं स्वयं पनि सहभागिता रहेको भनेर बाहिर आलोचना भैरहेको छ भन्ने प्रश्नमा उनले काम गर्ने क्रममा आफूबाट कमी कमजोरी भएको भए त्यसलाई सुधार्दै जाने बताउँदै उनले नियतबस स्वार्थ राखेर संस्थालाई बिगार्नमा नलागेको दाबी गरे।

उनले भने, ‘काम गर्दै जाँदाखेरी कतिपय कुराहरुमा कमजोरी भए होलान। अलि बढी झगडा गरेर विवादलाई टुंग्याउनुपर्थ्यो होला । हिजो विधान बनाउने बेलामा अझ बढी कठोर बन्नुपर्ने थियो होला, त्यो नहुँदै गर्दा कसैले त्यसलाई दुरुपयोग गर्न खोज्दा रोक्न सक्नुपर्थ्यो होला। त्यस्ताखाले कुराहरु आएका छन् । मैले नेतृत्व लिँदा सुल्झाउनु पर्थ्यो भन्ने कुरा आउनु स्वाभाविक पनि हो। तर, कसैको पेसा नै सत्ताको दुरुपयोग गर्नुमात्र रहेको पाइन्छ। तर हाम्रो काम भनेको समस्याको समाधान गर्नु थियो। संसारभरका नेपालीले यहीँनेर फरक छुट्याउन सक्नुपर्छ।’

‘अदालतमा मुद्दा गरेर सरकारसँग जोरी खोजेर समस्याको समाधान हुँदैन’उनले अलि फरक प्रसंगमा एनआरएनए संस्थाको नवीकरण गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए। अदालतमा मुद्दा गरेर सरकारसँग जोरी खोजेर समस्याको समाधान नहुने तर्क उनको छ।

बद्री केसी नेतृत्वको एनआरएनएले संस्था नवीकरण नगरिदिएको भन्दै परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत ललितपुरमा मुद्दा दर्ता गरेपछि उनले त्यस्तो टिप्पणी गरेका हुन्। अहिलेको अवस्थामा सबैले मिलेर एक ठाउँमा बसेर तालुकदार मन्त्रालयसंग सहकार्य गरेर समस्या समाधान गर्नुको विकल्प हुँदैन, नकि त्यही मन्त्रालयसँग जोरी खोजेर मुद्दा मामला गरेर हामी कहाँ पुग्छौं रु जसले संरक्षण दिने हो उहीसँग हामी लड्न थाल्यौ भने हामीले संस्थालाई कहाँ पुर्याउँछौं ? त्यो काम बन्द गर्न अनुरोध गर्छु।’

उनले बद्री केसी र आरको शर्मा नेतृत्वको दुई समूहबिचको संवादहीनतालाई अन्त्य गरी समस्या समाधान गर्न आफूहरु प्रयासमा रहेको र केसीले नेतृत्व गरेको समूहले प्रविधिको दुरुपयोग गरी संस्थालाई मुट्ठीमा राख्न चाहेकोले संवादमा नआएको आरोप लगाए।

संविधानले गैर आवासीय नेपालीलाई दिएको सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारलाई व्यवस्थित गरी गैर आवासीय नेपालीलाई नागरिकता वितरण कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि विवादमा रहेका दुवै पक्ष एकीकृत भएर नागरिकताको समस्या समाधान गर्न लाग्नुपर्ने धारणा उनको छ।

‘हामीले जसरी मिलेर यो समस्याको समाधान पहिला गरेका थियौं नागरिकता पाउने सन्दर्भमा जुन उपलब्धि हासिल गरेका थियौं। अहिले नमिल्दै गर्दा ति कुरा ओझेलमा पर्छन्। सबै पक्षका साथीहरु सँगै हिँडेर धेरै कामहरु भएका थिए। नेपालको सिस्टम बनिसकेको छैन। जे कुरामा पनि अलि बढी लबिङ गर्नुपर्ने, अलि धेरै लागेर आग्रह गर्नुपर्ने देखिन्छ। अहिलेको विवादले गर्दाखेरी सरकारसँग हाम्रा समस्या छन् र समाधान गर्दिनुपर्यो भनेर कुरा गर्नसक्ने अवस्था छैन। त्यसकारण सबै पक्षलाई आग्रह के भने यदि गैर आवासीय नेपालीको हितमा काम गर्न आउनुभएको हो भने विवाद मिलाउनुस,आफ्नो स्वार्थ छ भने लडिराख्नुस’ आचार्यले भने।

विवाद मिलाउन आफूहरुले चासो दिएरै लाग्दा पनि स्वार्थका कारण विवाद समाधान हुन नसकेको उनले बताए। आफैंले विवाद मिलाएर सबैलाई समेटेर काम गर्ने चेष्टा नेतृत्वले गर्नुपर्ने र त्यो नगरेसम्म कुनै नेतृत्वलाई विश्वास गर्न नसकिने उनले धारणा राखे। उनले संस्थाले गरेको कामको उपलब्धिलाई सबै मिलेर जोगाउनुपर्ने बताए । त्यसका लागि सबै मिल्नुको विकल्प नभएको भनाई उनको छ।

आचार्यले भने, ‘सबैले एक ठाउँमा बस्नुको विकल्प छैन। यदि बस्नुभएन भने अहिले हामीले जति काम गरेका छौ ति कामका उपलब्धिहरुलाई पनि राम्रोसँग कार्यान्वयन गर्न सकिँदैन। त्यतातिर सोच्न सबैलाई अनुरोध गर्दछु।’

गैर आवासीय नागरिकलाई सरकारले सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको नागरिकता देशसँग नागरिक जोड्ने कोशेढुंगा सावित हुने बताएका उनले सो कार्यलाई निरन्तरता दिन कार्यान्वयन पक्षमा देखिएको कानूनी जटिलतालाई अन्त्य गरेर सरकारले समस्या समाधान गरिदिन आग्रह गरे।

उनले सो नागरिकताबाट पासपोर्ट प्राप्त गर्ने विषयमा हालसम्म छलफल नै नभएको भन्दै गैरआवासीय नागरिकतामै पासपोर्टको पनि व्यवस्था गर्न सरकारलाई आग्रह गरे।

‘पासपोर्ट भन्ने कुरा नेपाल आउँदा जाँदा हामीले एअरपोर्टमा छाप हान्ने काम गर्नलाई मात्रै प्रयोग हुने चिज हो। नागरिकलाई त्यो दिँदा केहीपनि फरक पर्दैन। बरु पासपोर्ट बनाउँदा नेपाललाई आर्थिक भार पर्यो भने हामी अलि बढी तिर्न तयार छौं। यो गैरआवासीय नेपाली नागरिकताबाटै पासपोर्ट पनि दिने व्यवस्था गरियोस्,’ उनले थपे, ‘नागरिकता पाएर पनि उद्योग व्यवसाय गर्न पाउँदैन, जग्गा खरिदबिक्री गर्न समस्या हुन्छ भने त्यसको अर्थ हुँदैन। सजिलो के छ भने पहिला भएको पुरानो नागरिकता नम्बर नयाँमा सारिएको छ। त्यही नागरिकता नम्बरबाट सम्पत्ति किन्न बेच्न पाउँ भनेको मात्र हो। सरकारले त्यतातिर ध्यान दिएर त्यही अनुसार कानून बनाओस,’ आचार्यले भने।

आचार्यले गैर आवासीय नागरिकता पूर्ण रुपमा आउन आवश्यक ऐन निर्माण गर्नुपर्ने भएकाले केही समय लाग्ने र त्यसका लागि सबैले धैर्यता देखाउन आवश्यक भएको उल्लेख गरे। उनले गोर्खाहरुको मुद्दा समग्र गैर आवसीय नेपालीहरुको भन्दा भिन्न रहेकाले सोही अनुसार वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने औंल्याए