अयोध्यामा प्राण प्रतिष्ठा, नेपालका गाउँमा मासु प्रतिबन्ध - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

अयोध्यामा प्राण प्रतिष्ठा, नेपालका गाउँमा मासु प्रतिबन्ध


काठमाडौं । आगामी माघ ८ गते अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदैछ । राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागि मात्र नभइ संसारभर चासोको विषय बनेको छ । राम मन्दिर निर्माण तथा प्राण प्रतिष्ठाको लागि भारतका ठूला उद्योगी व्यापारी घरानादेखि बलिउडका ठूला कलाकारहरुले स्वेच्छाले करोडौँ चन्दा दिएका छन् ।

त्यतिमात्र नभइ भारतका सेलिब्रिटीहरु अहिले अयोध्या केन्द्रित भएकाले संसारमै चर्चा र चासोको विषय बनेको छ। अहिले भारतका अधिकांश राष्ट्रिय मिडियाहरु पनि अयोध्या केन्द्रित भएकाले सिंगो भारत राममय बनेको छ।

पछिल्लो एकसातादेखि भारतीय मिडिया र सामाजिक सञ्जाल रामको भजनले भरिभराउ छ। भारत र नेपालबीच सदियौँदेखि चलेको रोटीबेटीको सम्बन्धको प्रभाव पनि त्यतिकै परेको देखिन्छ। धार्मिक आस्था र विश्वासले मिडिया र सामाजिक सञ्जालको प्रभाव मधेश प्रदेशमा पनि उत्तिकै परेको छ।

अयोध्यामा हुने प्राण प्रतिष्ठाको दिन प्रदेशको गाउँगाउँमा विभिन्न प्रकारको यज्ञको तयारी शुरु भएको छ। साधु सन्त, जनप्रतिनिधि, गाउँका अगुवा, संघ संस्था लगायतको अगुवाईमा कतै हुनुमान आराधना , हनुमान चालिसा पाठ, रामधुनलगायत उक्त दिन धार्मिक अनुष्ठानको तयारी शुरु भएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताएका छन् ।

भगवान रामको ससुराली पनि जनकपुर भएकाले हामी माता सीताको माइती पक्ष भएको कारण अयोध्यामा राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको दिन हामीले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने उनीहरूको तर्क रहेको छ।

जनवरी २२ त्यही दिन अर्थात् माघ ८ गते वीरगञ्जमा पनि रामजानकी मन्दिरमा प्राणप्रतिष्ठाको तयारी गरिएको छ । मन्दिर पुनर्निर्माण भइरहेको छ । उक्त दिन वीरगञ्ज् महानगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरणलगायत कार्य नगर्न महानगरले अनुरोध गरेको छ । अटेर गरी त्यस्ता कार्य गरेको पाइएमा नियमानुसार कारबाही गर्नेसमेत महानगरको चेतावनी छ ।

उक्त दिन वीरगञ्ज महानगरक्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्रीवितरणलगायतका कार्यहरु नगरिदिन सूचना मार्फत सबै सरोकारवालालाई अनुरोध गरिएको छ।

त्यसैगरी रौतहटको सदरमुकाम गौर, बाराको सदरमुकाम कलैया सहित कैयौं नगरपालिकाले छुटाछुटै सूचना जारी गर्दै माघ ८ गते सोमबारका दिन आआफ्नो नगरक्षेत्र भित्र विभिन्न देवी देवताको प्राण प्रतिष्ठा, पूजा हुने भएकाले जीवजन्तु हत्या, मासु, माछा, मदिरा बिक्री वितरणमाथि रोक लगाएको छ ।