सरकारले टेरामक्स र एमडिएमएससम्बन्धी सम्पूर्ण कागजात बुझाउनुपर्ने - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

सरकारले टेरामक्स र एमडिएमएससम्बन्धी सम्पूर्ण कागजात बुझाउनुपर्ने


काठमाडौं । संसदीय समितिले टेरामक्स र एमडिएमएससम्बन्धी सम्पूर्ण कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले टेरामक्स र एमडिएमएस सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यस सम्बन्धमा अदालतबाट भएका फैसलासमेत मगाई विज्ञको परामर्शका आधारमा थप निर्णय लिने निष्कर्ष निकालेको छ । त्यस्तै बैठकले टेरामक्स र एमडिएमएस खरिद गर्दा र अहिलेको अवस्थामा त्यसको औचित्यका बारेमा दृष्टिकोण पेस गर्न पनि निर्देशन दिएको समिति सभापति भानुभक्त जोशीले बताए ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेरामक्स र एमडिएमएस प्रणालीका बारेमा यसअघि भएका निर्णयका बारेमा अध्ययन भइरहेको बताइन् । टेरामक्स र एमडिएमएस कार्यान्वयनमा अनियमितता भएको देखिए छानबिनका लागि सरकारले सहयोग गर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्यहरूले देशलाई आर्थिक भार पर्ने गरी टेरामक्स र एमडिएमएसको कार्यान्वयन नगर्ने निकायलाई कारबाही गर्नुपर्ने धारणा राखेका थिए । समिति सदस्य सुमना श्रेष्ठले टेरामक्स र एमडिएमएसमा कुनै निकायभन्दा पनि सरोकारवाला सबै निकाय दोषी हुने बताइन् । उनले टेरामक्समा मुछिएका व्यक्तिहरू नै अहिलेको मन्त्रिपरिषदमा रहेकाले छानबिन प्रभावकारी हुनेमा आशंका गरिन् ।

त्यस्तै समिति सदस्य विद्या भट्टराईले दूरसञ्चार प्राधिकरणलाई मात्रै देखाएर सञ्चार मन्त्रालय पन्छिन नमिल्ने तर्क गरिन् । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको एमडीएमएस र टेरामक्स प्रणालीका बारेमा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गरेको हो ।