‘नेपालले सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्छ’ - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

‘नेपालले सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्छ’


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्र संघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताएका छन् ।

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘विश्वको ६० प्रतिशतभन्दा बढी राष्ट्र संघका सदस्य, विश्वका आधाभन्दा बढी जनसङ्ख्या र संयुक्त राष्ट्रसंघपछि सबैभन्दा बढी प्रतिनिधि रहेको यस संस्थाले विश्व शान्ति र सुरक्षाको लागि उपयुक्त भूमिका निर्वाह गर्नुपर्छ।’

त्यस्तै, प्रधानमन्त्री दाहालले ‘विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न ‘नाम’ ले ‘विज्ञान, प्रविधि र नवप्रर्वन’ उच्च प्राथमिकता दिनुपर्छ,’ भने ।

सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिँदै प्रधामन्त्री ‘प्रचण्ड’ले समय नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्ने बताए ।

उनले भने “युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी छ । नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो ।”

नेपालले सार्वभौम समानता, आपसी सम्मान, पारस्पारिक लाभ र विवादको शान्तिपूर्ण समाधानमा आधारित सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘असम्लग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो ।’

‘नाम’ का निरन्तरको मूल्यमान्यता र सिद्धान्तहरु पवित्र रहेको उल्लेख गर्दै उनले यसको पालनाले हामीलाई शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्ग निर्देश गरिरहेको बताए ।