सँधैका लागि अस्ताए ‘सपना भुलाई सारा’का गायक - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

सँधैका लागि अस्ताए ‘सपना भुलाई सारा’का गायक


काठमाडौं । दिवंगत वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यका बारेमा संगीत तथा कला क्षेत्रमा व्यक्तिहरुले मार्मिक प्रतिक्रिया दिएका छन् । वैद्यले ७७ बर्षको उमेरमा विहीबार राति सँधैका लागि आँखा चिम्लिएका थिए । एक्कासी आएको ज्वरो र रुघाका कारण उनको शरीरले विश्राम लिएको थियो।

शुक्रबार श्रद्धाञ्जली सभामा भेटिएका वरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बास्कोटाले वैद्यलाई सुगम संगीतका संरक्षकका रुपमा सम्झिए । तीन दिन अघि मात्रै वैद्यसँग आफूले कुरा गरेको स्मरण गर्दै बास्कोटाले भने, ‘तीन दिन अघिमात्र उहाँसँग कुरा गरिरहेको थिएँ । तर आज अचम्म भयो, खै के भनौं । मानिसको जीवन सोच्नै नसक्ने हुँदो रहेछ । ‘सपना भुलाई सारा’ भन्या जस्तो’, उनी भावुक हुँदै भन्छन्, ‘यो लामो जीवनमा किन म हतास हतास छु’ उहाँले त्यस्तै गीतहरु गाउनुहुन्थ्यो । उहाँका गीतले जीवन बोकेको हुन्थ्यो । किनकी जीवनको यर्थाथतालाई शब्दले अंगालेको हुन्छ । हामी योगेश दाइलाई मिस गरिराखेका छौं ।’ वैद्यको निधनले नेपाली गीत संगीत क्षेत्रले सुगम संगीतका गहन व्यक्ति, एक संरक्षक गुमाएको बास्कोटाको प्रतिक्रिया थियो ।

करिब आठ वर्ष योगेशसँगै नजिक रहेर काम गरेका संगीतकार तथा गायक टिका भण्डारीले वैद्यलाई थोरै गीत गाउने तर शब्दलाई चिनेर भावमा बगेर आत्माबाटै गाउने स्रष्टाका रुपमा लिन्छन् । ‘सपना भुलाई सारा’ गीत रेकर्डको समयलाई स्मरण भण्डारी भन्छन्, ‘सपना भुलाई सारा, आँसु पिएर जाउ’ गीत चाहीं नातीकाजीको हातबाट उहाँले खोसेरै लिएको भन्न चाहन्छु । नातीकाजीले संगीत गर्न हार्मोनियममा राखेको गीतलाई उहाँले मलाई मन पर्यो । यो गीत मलाई सुट हुन्छ, म गाउँछु भन्नुभएको हो । त्यसपछि नातीकाजीलाई आग्रह गरेको र गाउनुस भनेपछि गाउनुभएको गीत हो त्यो ।’

वैद्यलाई नेपाल भाषाको ज्ञाताको रुपमा लिएका भण्डारीले नेपाली संगीतको पनि भाषाविद् भएको प्रतिक्रिया दिए । ‘उहाँले नेपाल भाषाका पनि थुप्रै गीतहरु गाउनुभयो । नेपाल भाषाको राम्रो ज्ञाता हुनुहुन्थ्यो । संगीतमा एउटा भाषाविद् हामीले खोज्नुपर्यो भने उहाँको नाम आउँछ’ भण्डारीले भने । २०३० को दशकमा रेडियो नेपालको लोकप्रियता चुलिनुमा वैद्यको योगदान महत्वपूर्ण रहेको भण्डारीको भनाई छ ।

उनले भने, ‘रेडियो नेपालको लोकप्रियता जति चुलियो त्यसमा उहाँको योगदान ज्यादै ठूलो छ । किनकी सुुगम संगीत नामाकरण गरेको समयलाई स्वर्णीम युग भनेर हामीले ३० को दशकलाई मान्यौं । हुनत उहाँले २०२२ सालमा स्वर परीक्षा पास गर्नुभएको हो । त्यसपछि उहाँले त्यस्तै प्रकृतिका गीतहरु मेहनतका साथ गहिरो भावमा अत्यन्तै लगनशील भएर गाउनुभयो । स्रोताको मन छुने काम गर्नुभयो ।’

वैद्यले नातीकाजीदेखि तारादेवीसँग संगत मात्रै गरेनन् उनीहरुकै धेरै गीत गाए र संगीत पनि भरेका छन् । उनी रातारात कलाकार बन्ने र प्रतिस्पर्धा गर्ने प्रवृतिभन्दा पृथक र मिडियाबाट पनि टाढै बस्थे तर अन्र्तमनबाट संगीतमा रमाउने व्यक्ति भएको भण्डारी सम्झन्छन् ।

वैद्यसँग नजिक रहेर काम गरेका संगीतकार स्वयन्द्र श्रेष्ठ उनको निधनले स्तब्ध भएको प्रतिक्रिया दिन्छन् । श्रेष्ठले केही समय अघिमात्रै वैद्यको गीतमा आफ्नो स्वर दिएका थिए तर वैद्य जीवित हुँदै गीत रिलिज गर्ने मौका भने पाएनन् । ‘एक हप्ता अगाडीमात्रै उहाँको घरमा हाम्रो भेट गीतको सिलसिलामा भएको थियो । तीनचार महिना अगाडि हामीले तीन चारवटा गीत उहाँको घरमै गएर उहाँकै संगीतमा रेकर्ड गरेका थियौं । मैंले उहाँको संगीतमा गाउने अवसर पाए । मेरो संगीतमा उहाँले गाउनुभयो । तर उहाँको निधनले दुःखी बनाएको छ । उहाँ सपना पुरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ श्रेष्ठले भने ।

लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित वैद्यको स्वास्थ्य बिहीबारबाटै बिग्रिएको बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशी बताउँछन् । ‘बेलुका योगेशलाई ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार ७७ बर्षको उमेरमा प्राण त्यागे,’ जोशीले सुनाए ।

वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका योगेशले करिब ३३ वर्ष सरकारी जागिरमा विताएका थिए । ०६१ मा सहसचिव पदबाट अवकाश लिएका योगेश निरन्तर संगीत साधनामा थिए । उनको पार्थिव शरीरमा श्रद्धा–सुमन अर्पण गर्न नेपाली कला क्षेत्रका व्यक्ति एवम शुभचिन्तकहरु नेपाल संङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर अन्तिम बिदाई गरेका थिए ।

लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित योगेश पछिल्लो समय क्रमशः थलिदै गएका थिए । बाहिर हिडडुल गर्न र कार्यक्रममा सहभागी हुन सकिरहेका थिएनन् । तर संगीत साधना र समर्पण ताजा थियो । संगीतमा पृथक उचाइ थियो उनको । करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका उनी पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहेका थिए ।