इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर


काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहितका व्यक्तिलाई दोषी ठहर गरेको हो ।

इच्छाराज र उनको परिवारका सदस्यलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार दोषी ठहर गरेको अदालतले जनाएको छ । तामाङको सजाय निर्धारणका लागि अर्को पेसी तोकिने विशेष अदालतले जनाएको छ । एमाले पूर्वसांसद उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो ।

यस प्रकरणमा इच्छाराजकी पत्नी सृजना शाक्य तामाङविरुद्ध १ अर्ब तीन करोड ५ लाख, छोरीहरू प्रतिक्षाविरुद्ध ६ करोड २२ लाख र प्रतिष्ठाविरुद्ध एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो ।

सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध २६ करोड ६१ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो । सिभिल सहकारी प्रकरणमा इच्छाराज, सिर्जना र केशवलाल सबै पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

तामाङले ठगी गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो । उनी लगायतले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यसमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)मुद्दा आकर्षित भएपछि विभागले पनि मुद्दा दायर गरेको थियो ।

उनीहरूले आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरण समेतका निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरण कसुर गरेको अदालतको ठहर छ । इच्छाराजले आफ्ना परिवारका सदस्यबीच अंशबण्डा समेत गरेको आरोप लागेको थियो ।