अयोध्यामा प्राण प्रतिष्ठा, नेपालमा शोभायात्रा र सार्वजनिक विदा - रुपान्तरण
 २०८१ बैशाख १८, मंगलबार    

अयोध्यामा प्राण प्रतिष्ठा, नेपालमा शोभायात्रा र सार्वजनिक विदा


काठमाडौं । भारतको अयोध्यामा उद्घाटन हुन लागेको राम मन्दिरको प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा, महोत्तरी लगायतका जिल्लाहरूमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको छ ।

आइतबार महोत्तरीको जलेश्वर र धनुषाको जनकपुरधाममा सांस्कृतिक बाजागाजासहितको र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागीहरूले हिन्दू धर्माबलम्वीहरुका लागि यो क्षण खुशीमय रहेको बताए । उनीहरूले नगर परिक्रमा गर्दै कलश यात्रासमेत गरेका छन् । भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइएको छ ।

नेपालभरका पाँच हजार मन्दिरहरूमा सोमबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सत्सङ्ग भजन कीर्तन गर्ने, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दूहरूलाई दीप उत्सव गर्न आह्वान गरिएको छ ।

उता, प्राण प्रतिष्ठा कार्यक्रमका अवसरमा कपिलवस्तुका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । अयोध्यामा सोमबार दिउँसो नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा कपिलवस्तुका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् । सार्वजनिक सूचना जारी गर्दै आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।

बिदा दिने पालिकाहरुमा कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, कृष्णानगर नगरपालिका, महाराजगंज नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिका हुन् ।