नयाँ सडक क्षेत्रमा पार्किङ निषेध, व्यापारी सडकमा - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

नयाँ सडक क्षेत्रमा पार्किङ निषेध, व्यापारी सडकमा


काठमाडौं । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि नयाँसडक क्षेत्रमा सवारी साधन पार्किङ रोक लगाएको छ । महानगरले नयाँसडक क्षेत्रका कालोपत्रे सडकहरुमा पार्किङ निषेध गरेसँगै व्यापारीहरु आक्रोशित भएका छन् ।

धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महावौद्ध, वीरअस्पताल तथा आसपासका कालोपत्रे सडकमा पार्किङ् निषेध लागू गरिएको छ । त्यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ ।

उक्त स्थानमा तीन सय वटा चारपांग्रे र सात सय वटा २ पांग्रे सवारी साधन पार्किङ गर्न सकिने दाबी गरिएको छ । नयाँसडक क्षेत्रलाई पार्किङ् निषेध गरेर विशेष सरसफाइ अभियान थाल्ने महानगर प्रहरीले जनाएको छ ।

तर उक्त निर्णयको न्युरोडका व्यापारीहरूले असन्तुष्टि जनाएका छन् । पार्किङ हटाउने निर्णयले आफ्नो व्यापारमा असर पर्ने भन्दै उनीहरूले पसल नै बन्द गरेर सडकमा विरोध प्रदर्शन गरेका छन् । पार्किङ नभएपछि बजार खाली हुने र व्यापार नहुने व्यवसायीको भनाइ छ । कुनै पनि निर्णय लिनु अघि बजार बुझेर मात्र लिन मेयर बालेन शाहसँग कुरा भएको तर शाहले सर्वसाधारणको कुरा नै नसुनेको उनीहरुको भनाइ छ ।