ओली र नेपालबीच ‘वान टु वान’ वार्ता - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

ओली र नेपालबीच ‘वान टु वान’ वार्ता


काठमाडौं । नेकपा एमाले विभाजनको सम्मुखमा पुगिरहेका बेलाअध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । करिब दुई घण्टा भेटवार्ता सकेर दुवै नेता मेरियट होटलबाट बाहिरिएका छन् । होटल परिसरमा रहेका प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोती दुगडले दुवै नेता प्रफुल्ल मुद्रामा बाहिरिहएको बताएका छन् ।

भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने खुल्न सकेको छैन् । तर छलफल सकारात्मक भएको आफुले महशुस गरेको दुगडले संचारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णु पौडेल समेत केहीबेर वार्तामा सहभागी भएका थिए । पौडेल निस्केपछि ओली र नेता नेपालबीच एक्ला एक्लै वार्ता भएको थियो ।

लामो समयदेखि प्रधानमन्त्रीसमेत रहेका ओली र नेता नेपालबीच भेट भएको थिएन भने दुई नेताहरुले एकले अर्काको चर्को आलोचना गर्दै आइरहेका थिए । 

मंगलबार मात्रै पनि ओलीले एमालेको नेपाल समूहका २७ जना संघीय सांसद र पाँच प्रदेश सांसदलाई पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न रहेको भन्दै किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए । सो स्पष्टीकरणको जवाफ ७ दिन भित्र बुझाउन भनिएको थियो । 

तर, बुधवार एकाएक ओली र नेपालबीच वालुवाटार बाहिर होटेलमा संवाद चलेको हो । बालुवाटारमा नेता नेपाल निकट युवा नेता योगेश भट्टराई प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । 

संसद् विघटनको घटना भएबाट प्रधानमन्त्री ओली र नेता नेपालबीचको सम्बन्ध बिग्रिएको थियो । त्यसपछि नेकपाको एकता सर्वोच्च अदालतले भङ्ग गराएपछिसमेत दुई नेताबीच संवादहीनताको स्थिति थियो । नेता नेपालले बालुवाटारमा हुने पार्टीका बैठकमा सहभागी नहुने भनेपछि पार्टीको बैठक नै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएका थिए ।

"

"