सरकारले घटायो बजेट लक्ष्य - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

सरकारले घटायो बजेट लक्ष्य


काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८.८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो ।

बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री डा.प्रकाशशरण महतले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको मूल्याङ्कनको आधारमा बजेटको लक्ष्य घटाएको बताए । उनले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने अवस्था रहेको जानकारी दिए । उनले चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटलाई संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुनेगरी संशोधित गरिएको बताए ।

मन्त्री महतले मध्ये पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताए । उनले चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको भनाइ राखे । उनले वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको उल्लेख गर्नुभयो । उहाँले सरकारको स्रोतबाट राजश्व र आन्तरिक ऋण १३ खर्ब नौ अर्ब १३ करोड ४६ लाख र विदेशी अनुदानतर्फ ४० अर्ब १२ करोड नौ लाख, वैदेशिक ऋणतर्फ एक खर्ब ८० अर्ब ८३ करोड ६७ लाख उठ्ने संशोधित अनुमान रहेको बताए ।

अर्थमन्त्री डा.महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गरे । उनले कठिन परिवेशमा आफूले अर्थमन्त्रीको जिम्मेवारी लिएको भन्दै आफू आएपछि अर्थतन्त्रले सकारात्मक लय समाएको बताए । उनले आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्किने भन्दै अहिले सार्वजनिक भएका सबै अर्थतन्त्रका सूचक सकारात्मक रहेको जानकारी दिए ।

उनले सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि वृद्धि हुने सरकारको अपेक्षा रहेको बताए । उनले बजेट पद्धतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने उल्लेख गरे । उनले सूचक सकारात्मक बन्दै गएपनि सरकारको लक्ष्यअनुसार सूचक नभएको स्वीकार गरे ।