काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो । यस क्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ। माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ।
चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ। राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन् । नेपाल प्रहरीले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ।
लामिछाने राईका व्यापारिक साझेदार हुन्। ग्यालेक्सी फोरके टीभीमा राईसँग लामिछाने साझेदार थिए। विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ।
यता, लामिछानेविरुद्धको शेयर विवादमा परेको उजुरीमा कम्पनी रजिष्ट्रारको कार्यालयले क्षेत्राधिकार अभाव भन्दै प्रहरी परिसरमा पत्र पठाएको छ । युवराज पौडेल सफलले रविमाथि कम्पनी ऐन विपरीत झुठो लिखत र बैंक स्टेटमेन्टका आधारमा गरिएको शेयर दाखिला खारेज बदर गरी हदैसम्म कारबाही र सजाय गर्नका लागि दिएको उजुरी दर्ता भए पनि पनि कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीका शेयरधनीहरुबीचको आपसी विवादमात्र हेर्ने अधिकार रहेको भन्दै प्रहरी परिसरसँग सम्बन्धित रहेको बताएर सक्कली निवेदन प्रहरी परिसर टेकुमा पठाएको हो ।