भक्तराज आचार्य रहेनन् - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

भक्तराज आचार्य रहेनन्


काठमाडौं । भजन शिरोमणीका रुपमा चर्चित वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह घरमै रहँदा अक्सिजन लेभल घटेपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । उनी ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।

८२ वर्षको उमेरमा उनको निधन भएको हो ।गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो । त्यसपछि उनी घरमै आराम गरिरहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।

भक्तराज पिता बलभद्र र मात रेनुकाको कोखबाट सन् १९४२ मा जन्मिएका थिए । उनका दुइ सुुपुत्र सत्यराज र स्वरुपराज पनि संगीत साधनामा पिताजीकै पथमा सक्रिय रहेका छन् । मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् बुध्दका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बनि, हजार आँखा हेर्ने, कोही नगरोस् प्रेम, एकदिन जस्ता अमर गीतहरु जनमनमा भिजेका छन्। त्यसैगरी लोकप्रिय भजनहरुमा एक दिन मैले प्रभूसँग, राम यहीँ छन्, भगवान जीवन नाउ, दुर्गे देउ भक्ति मलाई, तन मन वचनले हुन्।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ । रेडियो नेपालका जागिरे आचार्य ३० वर्ष अगाडिको दुर्घटनापछि गाउन नसक्ने अवस्थामा पुगेका थिए । जिव्रोमा समस्या देखिएपछि उनको स्वर नबुझिने भएको थियो । स्वरमा समस्या देखिएपछि उनको गायनयात्रा टुंगिएको थियो । त्यसपछि लामो समय उनी गीतसंगीतबाट टाढै रहेका थिए । उनले वर्षौंसम्म गीत समेत सुनेनन् ।

०४६ पछिका केही वर्षदेखि आचार्यले जिब्रोमा खटिरा आएको महसुस गरेको र विस्तारै खटिराहरूले फैलिएर बोल्न असहज भएको थियो । पछि उनलाई क्यान्सर भएको थियो । भक्तराज स्वयंले पनि क्यान्सरको आशंका गरेका थिए ।