राष्ट्रिय सभा अध्यक्षमा रस्साकस्सी - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

राष्ट्रिय सभा अध्यक्षमा रस्साकस्सी


काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलका बिचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्दै आएका छन् । आफ्नो दलले अध्यक्ष पाउनुपर्ने दाबी तीनै पार्टीका तीन शीर्ष नेताले गरेपछि उम्मेदवार टुंगो लाग्न नसकेको हो ।

माओवादी केन्द्रका एकपछि अर्को नेताले अध्यक्षमा आफ्नै दलको दाबी रहेन बताउँदै आएका छन् । सोमबार सांसद जनार्दन शर्माले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीकै हुने बताए । प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले राष्ट्रिय सभाको ठूलो दलको हिसावले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका हुन् ।

उनले हालसम्म गठबन्धन दलहरुका बिचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमती नभएको स्पष्ट पारे । उनले आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै राष्ट्रिय सभा अध्यक्ष आफूहरुकै हुने बताए ।

उनले भने – ‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रा हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रुपमा कसैको पनि सहमती भएको छैन । संस्थागत सहमती भएको छैन । ठूलो दलले दाबी नगरेमा कसले गर्ने रु भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शुन्य हुन्छ । त्यो हाम्रै हुन्छ ।’

संवैधानिक परिषद्को सदस्यसमेत राष्ट्रिय सभाका अध्यक्ष हुने संवैधानिक व्यवस्था भएकाले त्यहाँबाट हुने नियुक्तिलगायतका काममा अध्यक्षको प्रभावकारी भूमिका हुन्छ । सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गरिरहेका छन् । शीर्ष नेताका बीचमा यसमा औपचारिक÷अनौपचारिक छलफल हुँदै आएको छ । सत्तारूढ गठबन्धनको बैठकमा समेत यसमा छलफल भए पनि तीनै दलका आआफ्नै दाबीका कारण सहमति जुट्न सकेको छैन ।

सुरुमा अनौपचारिक छलफलमा टुंगो लगाउने प्रयास भएको तर तीनै जना नेताले आ–आफ्नो दाबी नछोडेपछि औपचारिक बैठकमा समेत यसमा टुंगो लाग्न नसकेको कांग्रेसका एक पदाधिकारीले बताए । माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले राष्ट्रिय सभाको सबैभन्दा ठूलो दलका साथै अन्य विभिन्न कारणले अध्यक्षमा माओवादीको दाबी हुनु स्वाभाविक भएको बताए । उनले सत्तारूढ दलका शीर्ष नेताका बीचमा हुने छलफलबाटै छिट्टै नै टुंगो लगाउने बताए ।

कांग्रेस सभापति देउवा राष्ट्रिय सभा अध्यक्ष कांग्रेसले पाउनुपर्ने अडानमा छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले सत्तारूढ दलका बीचमा छलफल गरेरै अगाडि बढ्नुपर्ने बताउँदै अध्यक्षको छिट्टै नै टुंगो लाग्ने बताउँदै आएका छन् । कांग्रेसले कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीले डा बेदुराम भुसाललाई राष्ट्रिय सभा अध्यक्षमा अघि सारेको छ । माओवादी केन्द्रकी नेतृसमेत रहेकी राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याललाई प्रधानमन्त्री प्रचण्डले अध्यक्ष बनाउन खोजेका बताइएको छ । कांग्रेसले आइतबार मात्रै संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएका सांसदहरुले अध्यक्षमा आफ्नो अडान कायम रहने बताएका थिए ।