प्रचण्डलाई तेस्रो पटक विश्वासको मत, ओलीको निसंकोच प्रशंसा - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

प्रचण्डलाई तेस्रो पटक विश्वासको मत, ओलीको निसंकोच प्रशंसा


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । तेस्रो कार्यकालमा तेस्रो पटक बुधबार उनले २६८ सांसद उपस्थित भएकामा विश्वासको मत पाएका हुन् । उनको पक्षमा १५७ मत परेको छ भने हुन्न भन्ने पक्षमा ११० मत र मत नदिने पक्षमा १ मत परेको छ । प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक पर्नेमा उनले स्पष्ट बहुमत पाएका छन् ।

प्रचण्डले तेस्रो कार्यकालमा तेस्रो पटक विश्वासको मत लिएका हुन् । यसअघि प्रचण्ड २०६५ र २०७३ सालमा प्रधानमन्त्री भएका थिए । यसअघि प्रचण्डले २०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले २७५ मध्ये २६८ सांसदको समर्थन थियो ।

सो समयमा नेपाली कांग्रेस, नेकपा (एमालेंसहित प्रायः सबै दलले प्रचण्डको पक्षमा मतदान गरेका थिए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाले मात्रै विपक्षमा मतदान गरेका थिए । पहिलो पटकको तुलनामा यो पटक १११ सांसद संख्या घटेको हो ।

तेस्रोपटक विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो काँधमा जिम्मेवारी अझ थपिएको बताए । ‘तेस्रोपटक विश्वासको मत पाएर काँधमा जिम्मेवारी थपिएको छ। जनताका पक्षमा तीव्र गतिमा काम गर्ने जिम्मेवारी थपिएको महसुस गरेको छु’ उनले भने, ‘तीनपटक विश्वासको मत लिँदै गर्दा अलग(अलग अनुभूति र महसुस भयो। करिब सत प्रतिशत विश्वासको मत पाउँदा र अहिलेको अवस्थाको अनुभूति प्राप्त गरेँ । मप्रति भरोसा गरेर मलाई समर्थन गर्ने र विपक्षमा मतदान गर्ने सबैलाई धन्यवाद ।’

विश्वासको मत याचना गर्दै प्रधानमन्त्री प्रचण्डले सत्ताको मुख्य घटक नेपाली कांग्रेसको महासमितिमा राजनीति, धर्म र भावी निर्वाचन सन्दर्भमा भएका छलफललाई गठबन्धन परिवर्तन गर्नुपर्नाको मुख्य कारण बताउँदै आफूलाई निर्दोष देखाउने प्रयास गरे । निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने नेपाली कांग्रेसको निर्णयबाट बढि नै विचलित देखिएका दाहालले कांग्रेसलाई आफूले नै संसदको पहिलो दल बनाउन योगदान गरेको दावी पनि गर्न छाडेनन् । यो दावी गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याउन नेपाली कांग्रेसलाई व्यंगात्मक शैलीमा चुनौती पनि दिए ।

आफूलाई राजनीतिको खलनायक जस्तो देखाउने नेपाली कांग्रेसको प्रयास भन्दै प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेर धोका दिएको भनी आरोप लाउने अधिकार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मात्र रहेको तर्क पनि गरे ।

नयाँ गठबन्धनका भाष्यकार एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्री प्रचण्डको प्रशंसा गरेका छन् । उनले नेपाली कांग्रेसलाई ‘इमानको कुरा नगर्न’ सुझाव दिएका छन् । विगतका आफ्ना तिक्ततापूर्ण अभिव्यक्तिहरु झुटा देखाउने गरी ओली र प्रचण्डले ‘नयाँ गठबन्धन हामी दुइभाईले सल्लाह गरेर बनाएका हौं’ भनेका छन् । उनीहरुले पार्टी एकता गर्दा ‘हामी पुल काटेर आएका छौं, अब फर्किने ठाउँ छैन’ भनेका थिए । त्यसको छोटो अवधिमै उनीहरु पुरानै अवस्थामा पुग्ने गरी छुट्टिएका थिए । त्यसपछि दुवै नेताहरुले परस्पर हिलो छ्याप्न शब्दकोषमा उपलव्ध सबै चर्का शब्दहरुको उपयोग गरेका थिए । नयाँ गठबन्धनमा सामेल हुनासाथै विगतलाई झुटा सावित गर्ने प्रयास दुवैजनाका तर्फबाट जारी छ ।

विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले निसंकोच एकअर्काको प्रशंसा गरेका छन् । यो गठबन्धन बने लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक धोकाधडी गरेको भनेर चर्को आलोचना गरेका थिए । उनले उदाहरणहरु प्रस्तुत गर्दै ‘धोका पाएकाहरु एक ठाउँ जम्मा भएका दिन तपाईं के गर्नुहुन्छ’ भनेर प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरेका थिए।

निवर्तमान सरकारका तर्फबाट प्रस्तुत पूर्व बजेटमाथि छलफल चलिरहेकै बेला अकस्मात गठबन्धन भत्किएपछि नयाँ गठबन्धन बनेको हो । बहालवाला प्रधानमन्त्री नै नयाँ गठबन्धनमा पनि सरकारको नेतृत्वमा निरन्तर रहने गरी भएको यो गठबन्धनले वामपन्थी दलहरु र भर्खरै संसदीय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेटेर सरकार सञ्चालन गर्ने देखिएको छ ।

गएको संसदीय निर्वाचन पछि माओवादी अध्यक्ष प्रचण्ड तिव्र गतिमा छलाङ्ग मार्दै राजनीतिक लाभ हासिल गरिरहेका छन् । ‘देश र जनताको हितमा समृध्दिको कार्य गर्न’ गठबन्धन परिवर्तन गर्नुपरेको तर्क दिँदै प्रचण्डले सहयात्री मुख्य दलहरुलाई उच्च महत्वका संवैधानिक पदहरु दिलाउन सहयोग नगरेका पनि होइनन् । पहिलो गठबन्धन गरेर एमालेलाई सभामुख पद पाउन मद्दत गरेका उनले राष्ट्रपति पदमा नेपाली कांग्रेसलाई सहयोग गरेकै हुन् ।

सभामुखमा एमालेका नेता देवराज घिमिरे र राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल चुन्न प्रचण्डले पुर्याएको योगदानलाई दुवै ठूला पार्टीले बिर्सन मिल्दैन । यसको बदलामा भविष्य अनिश्चित रहेको प्रधानमन्त्री पद र राष्ट्रिय सभाको अध्यक्ष पद प्रचण्डको पार्टीको भागमा परेको छ । यसरी हेर्दा सत्ता परिवर्तनमा गहिरो रुचि भएका जस्ता देखिएका प्रचण्डले शक्तिका सबै केन्द्रहरु आफैंसँग मात्र राखौं भनेर लालच गरेको जस्तो पनि देखिँदैन ।