धरहरा उद्घाटनपछि ओलीको अनुभवः आइफल टावर चढेजस्तै भयो - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

धरहरा उद्घाटनपछि ओलीको अनुभवः आइफल टावर चढेजस्तै भयो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै आ–आफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आह्वान गरेका छन् ।

छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको समेत बताए । उनले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताए ।

‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औं तलामा आएको छ, यो काठमाडौं र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ’ उनले अघि भने, ‘मैंले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुशी लागेको छ ।’

धरहरा ढल्दा हामीलाई आफैं ढले जस्तो र ठडिंदा हामी बौरिएर उठेजस्तो अनुभव भएको धेरैले सुनाउने गरेको प्रधानमन्त्री ओलीले बताए । पुनर्निर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सर्तकता अपनाउँदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिएको उनको भनाइ छ ।

शनिबार धरहराको सबैभन्दा माथिल्लो अर्थात २० औं तलाको बार्दलीबाट पुष्पवृष्टी गर्दै ओलीले धरहराको उदघाटन गरेका हुन् । ओलीले धरहरामा राखिएको शिलालेख अनावरण गर्दै २० औं तलामा पुगेर उपत्यकाको दृष्यावलोकन गर्दै पुष्प वृष्टि गर्दै उदघाटन गरेका हुन् ।