पोखरामा रातभरी डिस्को र दोहोरी : प्रधानमन्त्री पनि नाचे - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

पोखरामा रातभरी डिस्को र दोहोरी : प्रधानमन्त्री पनि नाचे


काठमाडौँ । पोखरामा आइतबार साँझदेखि डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने भएका छन् ।आईतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् ।

उनले आजै साँझदेखि लागू हुने गरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्बाध रूपमा सञ्चालन हुने बताए । उनले राउन्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाए ।

उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे । उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत् ध्यान केन्द्रको रूपमा एउटा ध्यान केन्द्र निर्माण गर्ने घोषणा पनि गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वी चोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने बताए ।

उनले भने, ‘आजै साँझदेखि लागू हुने गरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्बाध रूपमा सञ्चालन हुनेछन् । साथै डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने कुरा जानकारी गराउन चाहन्छु ।

राउन्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्नेछौँ । बेगनास तालमा क्रुज शिप सञ्चालन गरिनेछ । पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गरिनेछ । पोखरालाई वृहत् ध्यान केन्द्रको रूपमा एउटा वृहत् ध्यान केन्द्र निर्माण गरिनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वी चोकसम्म स्टल बस सेवा सञ्चालन गरिनेछ ।’

पोखरामा रात्री जीवन खुल्ला भएपछि गायक प्रकाश सपुत प्रस्तुति राखे। प्रधानमन्त्री प्रचण्ड उपस्थित कार्यक्रममा पहिलो पटक प्रत्यक्ष गीत सुनाउन लागेको खुलाउँदै उनले दाहाललाई ‘पछिल्लो पुस्ताको अब्बल क्रान्तिकारी नायक’को संज्ञा दिए ।

कार्यक्रममा सपुतले प्रधानमन्त्री दाहाल, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई स्टेजमा आमन्त्रण गर्दै नृत्य गर्न आग्रह गरिहाले । आग्रहपछि सपुतको चर्चित गीत ‘गलबन्दी च्यातियो... मा अतिथिले नृत्य गर्दा पोखरेली दर्शकसमेत नाचेका थिए।

कार्यक्रममा गायक सपुतसँगै पोखरासँग सम्बन्धित गीत सुनाए । गायक प्रमोद खरेलले ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ बोलको गीत सुनाए भने धर्मेन्द्र सेवानले ‘रेशम फिरिरी’ सुनाएर अग्रज गन्धर्व गायकको सम्झना गराए । सरुभक्तको शब्द रहेको ‘हङकङ पोखरा’ गीत सुनाउँदै विवेक श्रेष्ठले गीतले देश विदेशमा भएका नेपालीलाई जोड्ने विचार राखे ।