इलाम २ उपनिर्वाचन : कांग्रेसबाट भेषराज आचार्यको नाम पहिलो नम्बरमा - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

इलाम २ उपनिर्वाचन : कांग्रेसबाट भेषराज आचार्यको नाम पहिलो नम्बरमा


काठमाडौं । आउँदो बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले उमेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रले पठाएको नामहरु जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ ।

मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो ।

सभापति इदिङ्गोले भने,‘ क्षेत्री समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौं । दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका हौं ।’ त्यस्तै क्रमश जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए ।

बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम पनि सिफारिस गरेर पठाइएको उनले बताए । सिफारिस भएका नामहरु जिल्ला र प्रदेश कार्यसमितिले राय लेखेर पठाउनेछन् र केन्द्रले फाइनल गर्ने पनि उनले बताए । एमाले उपाध्यक्ष एवम संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि उक्त स्थान रिक्त छ ।

कांग्रेसबाट मुख्यगरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकांक्षीका रुपमा दौडधुपमा छन् । इलाम क्षेत्र नम्बर २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ । राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उम्मेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यसपटक सकरात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ ।