इलाम २ उपनिर्वाचन : बुबा सुवासको ठाउँमा छोरा सुहाङ - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

इलाम २ उपनिर्वाचन : बुबा सुवासको ठाउँमा छोरा सुहाङ


काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सुवाष नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त थियो । साथै बझाङ प्रदेश-१ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । आगामी वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ ।

योसँगै नयाँ सत्तागठबन्धनबाट आफू उम्मेदवार हुन पाइन्छ कि भनेर च्याँखे दाउ थापेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको चर्चा पनि टुंगिएको छ । यसबाट उनको दौडधूप व्यर्थ भएको छ ।

यता नयाँ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने पनि छ । हुनत रास्वपाका नेताहरु उम्मेदवार खडा गर्ने भनिरहेका छन् । तर रास्वपा सभापति रवि लामिछानेको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकै नै राम्रो कुम मिलेकाले आफ्ना आकांक्षीलाई पछाडि बस्न आग्रह गर्न सक्ने पनि बुझिन्छ ।

सुस्त रहेको नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको तय गरेको छैन । आधा दर्जन आकांक्षी रहेका छन् । यता, राजनीतिको व्यवहारिक ज्ञान र अनुभव सँगाल्न बाँकी नै रहेका सुहाङलाई अनुभवी पुराना नेता कार्यकर्ताको चित्त बुझाएर उनीहरुको सहयोग लिने कुरा कम चुनौतिपूर्ण देखिँदैन । उनलाई आफ्ना पिताको योगदान र उनले आर्जन गरेको लोकप्रियता पनि राजनीतिमा उभिन निकै महत्वपूर्ण आधार बन्न सक्छ । अन्तिम निर्वाचन हारेर जीवनबाट विदा लिएका सुवासले राजनीतिमा पक्ष र विपक्ष दुवैथरीको विश्वास जितेका थिए । सुहाङले पिताको यो गुणबाट पनि लाभ लिन सक्ने देखिन्छ ।

संविधान सभा र संसद गरी स्वर्गीय नेम्वाङले संसद्को चार कार्यकाल नेतृत्व गरेका थिए । तर राष्ट्रपतिको निर्वाचनमा भने उनी सफल हुन सकेनन् । तत्कालको गणित एमालेको पक्षमा थिएन, एमालेका तर्फबाट उम्मेदवार बनेका सुवास राष्ट्रपतिमा जित्ने सम्भावना यसैपनि थिएन । तत्कालिन गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुवासलाई पराजित गरेका थिए । सुवासले सभामुखको भूमिकामा २०६३ वैशाख देखि २०६३ र २०६३ माघदेखि २०६५ साल जेठसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यसपछि उनी दुइ पटक संविधानसभाको अध्यक्षको भूमिकामा थिए र उनकै नेतृत्वको दोस्रो कार्यकालको संविधानसभाबाट संविधान निर्माण सम्पन्न भएर घोषणा पनि भएको थियो । २०४८ यता उनी दुई पटक राष्ट्रिय सभामा निर्वाचित भए भने २०५६ यताका पाँचवटै चुनावमा सफल भए ।

सुवास नेम्वाङको राजनीतिक यात्रा विद्यार्थी युनियनबाट सुरु भएको थियो । उनी २०२९ सालमा अनेरास्ववियूबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियू सभापति निर्वाचित भएका थिए । त्यो उनको सक्रिय राजनीतिको पहिलो सफलता थियो तर अन्तिम निर्वाचनमा भने उनी पराजित भएका थिए ।

उपनिर्वाचनको मैदानमा उत्रिन तयार भएका सुहाङले आफ्ना पिताको यो राजनीतिक पृष्ठभूमि कत्तिको सदुपयोग गर्न सक्छन् भन्ने जिज्ञासा इलाम २ का मतदातालाई हुनसक्छ । सतहमा नदेखिने असहयोगको राजनीतिको व्यवस्थापन र त्यसलाई चिर्ने रणनीति निर्वाचनको अर्को महत्वपूर्ण पक्ष हो भन्ने पक्ष सुहाङका लागि व्यवहारिक राजनीतिको नयाँ अध्याय हुने छ ।