मुलुकलाई छट्टुहरू होइन, गति र मति भएको नेता चाहिएको छ - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

मुलुकलाई छट्टुहरू होइन, गति र मति भएको नेता चाहिएको छ


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुने थालेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाललाई गति र मति दुई वटै भएको व्यक्ति चाहिने बताए ।

रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको आरोप समेत लगाए । उनले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरू जरुरी रहेको बताए । झुकाउने खालको छट्टुहरू नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो ।

उनले भने, ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले । छट्टुहरू त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ । अलपत्र यसो रङरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरू चाहिएको होइन । हामीलाई धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन । हामीलाई गति भएको मान्छे पनि चाहियो । गति र मति दुवै भएको मान्छे चाहियो । मति छ गति छैन, गति छ, मति छैन । हामीलाई त गति र मति दुई वटै चाहियो । किनकि यो बेलामा हामीले मति पनि ठिक राख्नुपर्नेछ । हामीले आफ्नो घरभित्रको फोहोर पनि ठिक गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ । हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ । त्यसलाई ठिक गर्नपर्छ ।’

सोही कार्यक्रममा सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने बताए । सांसद पौडेलले सत्ता गठबन्धन स्थायी नहुने दाबी समेत गरे । उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिर समेत गरे ।

पर्खिएर बसेको खण्डमा कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउने सांसद पौडेलको भनाई थियो । उनले कांग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औँल्याए ।