पाथिभराको तेस्रो नाम : ‘सेमुक्तु कोक्मा’ भएको दाबी - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

पाथिभराको तेस्रो नाम : ‘सेमुक्तु कोक्मा’ भएको दाबी


धरान । ताप्लेजुङ स्थित प्रसिद्ध धार्मीस्थल पाथिभरा डाँडाको मौलिक नाम नामाकरण गरिनुपर्ने माग भैरहेको बेला तेश्रो नाम मुन्धुमसम्मत भएको दाबी गरिएको छ । पाथिभरा नाममा प्रसिद्ध उक्त स्थलको मौलिक नाम ‘मुक्कुमलुङ’ भएको दाबी गरिएको बेला तेश्रो नाम ‘सेमुक्तु कोक्मा’ भएको दाबी गरिएको हो ।

पाथिभरा क्षेत्र आदिमकालदेखि लिम्बु समुदायको पवित्र सांस्कृतिक एवं आध्यात्मिक भूमि भएको बताउँदै आएका उनीहरुले छुट्टा छुट्टै नामाकरण संघर्ष समिति बनाई अलग अगल नाम मौलिक भएको दाबी गरेका हुन् । किराँत याक्थुङ चुम्लुङ निकटको समितिले मुक्कुमलुङ मौलिक भएको दाबी गर्दै आएका छन् ।

युमा साम्यो महासभा निकट सेमुक्तु कोक्मा संघर्ष समितिले शुक्रबार धरान र ताप्लेजुङमा एकैसाथ पत्रकार सम्मेलन गर्दै पाथिभराको तेश्रो नाम सेमुक्तु कोक्मा भएको दाबी गरेको हो । समितिव्दारा जारी विज्ञप्तीमा भनिएको छ ‘मुन्धुममा सेमक्तु कोक्मा, सेमुक्तुगोक्सा, साङसिङ मुक्तु, सेङसिङ कोक्मा मुक्तु भनी विभिन्न शव्दले सम्बोधन गरिन्छ ।’

प्राकृतिक प्रकोपबाट रक्षा, रोगव्याधी महामारीमा जोगिन मनोकांक्षा पुरा गर्न शक्ति, बरदान, आशिर्वादका लागि प्रार्थना गर्दै त्यहाँ कठिन यात्रागरी पूजा अनुष्ठान गर्नपुग्ने प्रचलन उहिल्यै देखी रहेको विज्ञप्तीमा उल्लेख छ । भनिएको छ ‘युमा साम्यो धर्म मान्ने समुदायका फेदाङमा, सम्बा, येबा–येमा, सिंङसाङगेहरुले गर्दै आएको पूजा अर्चनाको नाबा चएत मुन्धुम अविच्छिन्न रुपमा पुकारिदै आएको छ ।’

साम्योका महासचिव डा. रमेश इजमका अनुसार मुन्धुम लिम्बु समुदायको मौखिक श्रुति परम्परामा रहेको धार्मीक, सांस्कृतिक शास्त्र सम्पदा हो । पछिल्लो समय फेदाङमा, सम्बा, येबा–येमाले प्रकट गरेका आधारमा यस्लाई लिपिबद्ध गरेको पनि पाइन्छ । मौलिक नामको दाबी भिन्न भएपनि दुवै पक्षले उक्त धार्मिक स्थललाई राज्यले हिन्दुकृत गरेर पाथिभराको नामाकरण गरेको मानेका छन् । त्यहाँ भैरहेका विकास र धार्मिक गतिविधिमा आदिबासी लिम्बुहरुलाई राज्यले वेवस्ता गर्दै आएको उनिहरुको समान भनाई छ ।

समुद्र सतहबाट ३ हजार ७९४ मिटर उचाईमा अवस्थित पाथिभरा मुक्कुमलुङ धार्मिकस्थल पुग्न पैदल यात्रा निकै विकट छ । सरकारले त्यहाँ पुग्न केवलकारको योजना अघि बढाएपछि नामाकरण र पाथिभरको प्राकृतिक मौलिकताको सवाल उनिहरुले उठाएका हुन् । अन्तर्राष्ट्रिय श्रम संगठनको घोषणापत्र आइएलओ १६९ मा आदिबासी भूमिमा विकास निर्माणका परियोजना सञ्चालन हुँदा त्यहाँका आदिबासी जनजातिबाट स्वतन्त्रता पूर्वक अग्रिम सुसूचित र स्विकृति लिनुपर्छ भन्ने शर्तको सम्मान र कार्यान्वयन नभएको दुवै पक्षको भनाई छ ।

युमा साम्यो निकट पक्षधरले प्रचलनमा रहेको मौखिक मन्धुमका आधारमा तेश्रो नामनै मौलिक भएको दाबी गरेको हो । चुम्लुङ निकट पक्षधरले लिखित इतिहास, मुन्धम र समुदायमा प्रचलित श्रुति परम्परालाई आधार मानेको दाबी गरेको छ । नामको विवाद सतहमा अएपछि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिलविक्रम नेम्वाङ वैरागी काइलाले डेढसय वर्ष अघिको ऐतिहास्कि दस्तावेज सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । नेपालको लिम्बुवान सम्बन्धि पहिलो अनुसन्धानकर्ता वेलायती विव्दानव्दारा संकलीत प्रसिद्ध हडसन पाण्डुलीपिमा सिरिजंगा लिपिको मुन्धुममन विभिन्न सर्गमा मुक्कुमलुङ उल्लेख भएको स्पष्ट गरेका छन् ।

पछिल्लो समय प्रदेश १ को नामाकरण पहिचानको आधारमा हुनुपर्ने माग उठेपछि लिम्बु समुदायका अधिकारमुखी संस्थाहरु विच मतभेद बडेको थियो । किरात चुम्लुङ याक्थुङ चुम्लुङ लगायतका संगठनहरुले ‘किरात’ शब्दलाई सहज रुपमा लिएपछि मौलिकतावदी भनिने पक्षधर छुट्टै संगठित हुन थाले । उनीहरुले विधिवत रुपमा युमा साम्यो महासभ गठन गरी चुम्लुङका कार्यहरुमा फरक मत राख्न थालेका छन् । एक लिम्बु विद्धानले भने ‘जनगणनामा फरक धर्मका कुरा र पाथिभराको तेश्रो नाममा आएको भिन्न धारणा यसको उदाहरण हो ।’